लुबौविको केन्द्रीय क्याम्पसले गर्‍यो पहिलो पटक स्थानीय सरोकारवालाहरूसँग शैक्षिक अन्तरक्रिया

मिति २०८२ साल ६ महिना ३० गतेका दिन लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा.  गीतु गिरी प्रमुख अतिथि रहेको कार्यक्रम केन्द्रीय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख दयाराम गौतमको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्य, परीक्षा कार्यालयका प्रमुख इन्द्र काफ्ले, वरिष्ठ  पुरातत्त्वविद्  वसन्त बिडारी लगायत लुम्बिनी सांस्कृतिक नगरपालिका,  गैडहवा गाउँपालिका र कञ्चन गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका प्राचार्यहरू,  स्थानीय सरोकारवालाहरू, समाजसेवी तथा शिक्षासेवीहरू, उद्यमी तथा व्यवसायीहरू  र पत्रकारहरूको उपस्थिति थियो।

कार्यक्रममा  सहभागीहरूले  केन्द्रीय क्याम्पसको तर्फबाट स्थापनाकालदेखि बाह्रौँ वर्षमा पहिलो पटक स्थानीय आवाजको प्रतिनिधित्व हुने गरी अन्तरक्रियात्मक कार्यक्रम आयोजना भएकामा खुसी प्रकट गरे । अन्तरक्रिया मूलतः  स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीहरूको सङ्ख्या वृद्धि गर्न के गर्न सकिन्छ?, लुम्बिनीलाई थप चलायमान बनाउन केकस्ता प्राज्ञिक गतिविधिहरू सञ्चालन गर्न सकिन्छ? र,  स्थानीय विद्यालय, व्यावसायिक प्रतिष्ठानहरू तथा केन्द्रीय क्याम्पसबीचको सहकार्य कस्तो प्रारूपले अगाडि बढाउन सकिन्छ? भन्ने प्रश्नहरूको सेरोफेरोमा केन्द्रित थियो ।

वक्ताहरूले विश्वविद्यालय स्थानीय समुदायसम्म पुग्नुपर्ने,  केन्द्रीय क्याम्पसमा सञ्चालित कार्यक्रमहरू बारे स्थानीयलाई  पर्याप्त जानकारी हुनुपर्ने तथा त्यसको निमित्त पर्याप्त प्रचारप्रसार हुनुपर्ने कुरामा जोड दिएका थिए । लुम्बिनी र आसपासका क्षेत्रका विद्यार्थीहरूको आर्थिक अवस्था, चाहना र मागको पहिचा गरी सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको कुरा साझा रूपमा उठेको थियो । विश्वविद्यालयले स्थानीय पाठ्यक्रममा बौद्ध शिक्षा समावेश गर्न ठोस कदम चाल्नुपर्ने कुरा पनि बहसको प्राथमिक विषय रहेको थियो ।

कार्यक्रममा विशेष प्रस्तुति राखेका क्याम्पस प्रमुखले विश्वविद्यालयको ऐन निर्दिष्ट गन्तव्यलाई पछ्याउँदै स्थानीयस्तरको आवश्यकतासमेत सम्बोधन गर्ने कुरा राखेका थिए । व्यक्तिगत विचारका आधारमा भन्दा पनि वैज्ञानिक विधिद्वारा विद्यार्थीको माग पहिचान गर्दै नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने कुरा स्पष्ट पारेका थिए । प्रमुख अतिथि डा. गिरीले स्थानीयस्तरबाट विश्वविद्यालयबारे सकारात्मक चासो प्रकट हुनु सुखद रहेको बताउँदै स्थानीय आवश्यकतालाई सदैव केन्द्रमा राख्नुपर्ने कुरामा जोड दिए । प्रा.वसन्त बिडारीले विश्वविद्यालय निरन्तर प्रगतिपथमा लम्किरहेको सुखद पक्ष औँल्याउँदै पदाधिकारीहरूको समन्वयात्मक कार्यशैलीले संस्था निर्द्वन्द्व एवं निरबरोध चल्नु सकारात्मक पक्ष रहेको कुरा प्रकट गरे । त्यस्तै बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्यले स्थानीय माग अनुसार सीपप्रधान पाठ्यक्रम विकास गरिने कुरामा जोड दिए ।

डा. ङिमा शेर्पाले त्रिरत्न वन्दना गराएको उक्त कार्यक्रम सहायक प्राध्यापक लिलामणि पौडेलले सञ्चालन गरेका थिए । सहायक प्राध्यापक अञ्जु खनालले स्वागत मन्तव्य राखेकी थिइन् भने उपप्राध्यापक मञ्जील सुवेदीको संयोजकत्वमा विवरण अभिलेखन गरिएको थियो ।  बिहान ११:२० मा सुरु भएको कार्यक्रम दिउँसो ३ बजे सकिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.