लोककल्याणकारी राज्य सम्बन्धी बौद्ध अवधारणा

तिलकराम आचार्य, पिएच डि

लेख सार
नागरिक हितको सर्वोच्चता स्वीकार गर्दे प्रत्येक नागरिकको आधारभूत मानव अधिकारलाई अंगिकार गरेको राज्यलाई लोककल्याणकारी राज्य भनिन्छ । उत्पादन र वितरणको सन्तुलन, सामाजिक न्याय, मानव अधिकारको संरक्षण र जनतालाई छिटो छरितो स्तरीय सेवा प्रदान गर्दै जनहितमा समर्पित राज्य नै लोक कल्याणकारी राज्य हो । राज्य लोककल्याणकारी हुनको लागि समाज ठीक हुनु पर्ने र समाज ठीक हँुदा व्यक्ति आफै ठीकहुने कुरामा जोड दिन्छन् भने बौद्ध चिन्तनहरु व्यक्ति ठीक भएको अवस्थामा मात्र समाज र राज्य कल्याणकारी हुने कुरामा विश्वास गर्दछन् । लोककल्याणकारी राज्यको लक्ष्य जनताको जीवनस्तर माथि उठाई उनीहरूलाई सुखी बनाउनु हो । यसले व्यक्तिवाद र समाजवाद दुवैलाई समन्वय गर्दछ । लोककल्याणकारी राज्यले व्यक्तिको स्वतन्त्रताको अपहरण गर्दैन लोक कल्याणकारी राज्य सम्बन्धमा बौद्ध ग्रन्थमा प्रसस्त धारणाहरु पाइन्छन् । प्रस्तुत लेखमा लोककल्याणकारी राज्यको अर्थ, परिभाषा, उत्पत्ति र विशेषता सम्बन्धी बौद्ध अवधारणहरुलाई चर्चा गर्ने प्रयास गरिएको छ ।

प्रमुख शब्दावली
कल्याणकारी राज्य, बौद्ध अवधारणा, समाजवाद, साम्यवाद, शासन प्रणाली, मानव सभ्यता, राज्य प्रमुख, दण्ड विधान

परिचय
लोककल्याणकारी राज्य भनेको आधुनिक पूँजीवाद र साम्यवादको अतिवादबाट मुक्त भएको सामूहिकता एवं सामाजिकतामा आधारित प्रतिस्पर्धा सहितको शासन व्यवस्थामा आधारित समाज व्यवस्था हो । यसले मानवतालाई केन्द्रविन्दुमा राखेको हुन्छ । यसको ‘प्रजातान्त्रिक समाजवाद’ सँग नजिकको वैचारिक सम्बन्ध देखिन्छ । यो खाली शासन व्यवस्था र समाज व्यवस्था मात्र होइन बरु शासन व्यवस्थालाई कार्यान्वयन गर्न सकिने व्यावहारिक समाज व्यवस्था हो । यसले सबै खाले कट्टरता र अतिवादको विरोध गर्दछ । ‘शान्तिपूर्ण सहअस्तित्व’ यसको मूल मन्त्र हो । यसरी हेर्दा यो मध्यमार्गी विचार बोकेको मानवतावादी लोकतान्त्रिक व्यवस्था हो । राज्यको कल्याणकारी सिद्धान्तहरुले जनताको सामान्य हितका आधारमा शासन गर्ने राज्यको स्वरुपलाई कल्याणकारी राज्य मानेका छन् । यसको व्याख्या विश्लेषणमा आधुनिक युगका युरोपेली राजनीतिक विचारधाराको विशेष योगदान रहे पनि यसको गहिराइमा विवेचना गर्दा यसका धेरै विचारहरू बुद्धका चिन्तनसँग मेल खान्छन् । बौद्ध ग्रन्थ त्रिपिटकमा बुद्धको सिद्धान्त संग्रहित गरिएको छ । त्यस मध्ये दीघनिकायमा विश्वको उत्पत्ति, जाति व्यवस्थाको कृत्रिमता जस्ता विषयवस्त¬हरू उल्लेख गरिएका छन् भने मज्झिम निकायमा तत्कालीन राजनीतिक, सामाजिक व्यवस्था तथा अन्य सिद्धान्तहरू संग्रहित रहेको पाइन्छ ।

समग्रमा त्रिपिटक धर्मको स्रोत हो । धर्मका गुण तथा सिद्धान्तहरूले प्रत्यक्ष तथा परोक्ष रूपमा सामाजिक, राजनैतिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा प्रभाव पारेका छन् । हाल तिनीहरूको प्रभावकारिता कस्तो छ भन्ने विषयलाई लिएर यो लेखमा अध्ययन गरिएको छ । साथै विनयले बौद्ध संघ तथा यसको प्रशासनिक संगठनमा नैतिक मूल्य र मान्यता स्थापनामा कस्तो भूमिका खेल्दछ भन्ने कुरामा केन्द्रित यो लेखमा बुद्धको राज्य, राजनीति र राजनीतिक विचारधाराको अध्ययन गरिएको छ ।

राज्यको परिभाषा
राज्यलाई आर्थिक, दार्शनिक एवं राजनीतिक दृष्टिले व्याख्या गरेको पाइन्छ । त्यसै गरी कसैले राज्य कस्तो हुनु पर्छ भन्ने आधारमा पनि राज्यको व्याख्या गरेका छन् । समग्रमा राज्य त्यस्तो संगठित इकाइलाई भनिन्छ जो एक शासनको अधिनमा हुन्छ । राज्य सम्प्रभुता सम्पन्न हुन्छ । यसको अतिरिक्त राज्य भौमिक अभिरुचिमा आधारित हुन्छ । यसको अर्थ कुनै शासकीय इकाई या त्यसको कुनै प्रभागलाई पनि राज्य भनिन्छ । बिना भूमि राज्यको अस्तित्व सम्भव छैन । जुन भूभाग माथि राज्यको अधिकार हुन्छ, त्यसभित्रका सबै व्यक्ति राज्यका सदस्य हुन्छन् । राज्य भित्रका सबै संगठनहरूको रक्षा गर्नु राज्यको दायित्व हुन्छ । संसारका सबै मानिसहरू कुनै न कुनै राज्यका नागरिक हुन । राज्यको नागरिक नभई आफ्नो अस्तित्व राख्न सकिदैन । वास्तवमा राज्य शब्दको उपयोग तीन अलग अलग रूपमा गरिन्छ । पहिलो यसलाई एक ऐतिहासिक सत्ता मानिन्छ । दोस्रो दार्शनिक र मानवीय समाजको स्थायी संगठनको रूपमा तेस्रो आधृुनिक परिघटनाका रूपमा यसलाई व्याख्या गर्न सकिन्छ । राज्य आफ्नो उद्देश्य पूर्तिको लागि कुनै शासन प्रणालीबाट व्यवस्थित भएको हुन्छ । यसैलाई सरकार भनिन्छ । अतः राज्य एउटा समिति हो भने सरकार त्यसको संस्था हो ।

बौद्ध दर्शनमा कल्याणकारी राज्यको कल्पना
कल्याणकारी राज्य सत्यमा चल्दछ । सामान्यतया कुनै पनि वस्तु (वस्तुस्थिति वा घटना) बारे हाम्रो इन्द्रियहरूले जेजति अनुभूति र संचेतना दिन्छ, त्यही हाम्रो लागि सत्य हुन्छ । यद्यपि इन्द्रियहरूको सीमितताले घटना परिस्थिति सम्बन्धमा सम्पूर्ण ज्ञान हामीलाई नहुन पनि सक्छ । त्यसैले कहिलेकाहीं इन्द्रियहरूको भ्रम पनि हामीलाई वास्तविक जस्तो लाग्छ तर सत्यको मापन भने त्यही बनिदिन्छ । वैज्ञानिकहरूले कुनै पनि घटना वस्तुस्थितिको वास्तविकता पत्ता लगाउनका लागि त्यसको निरीक्षण, परीक्षण र प्रयोग गरे जस्तै कल्याणकारी राज्यमा सबै कुराहरूको निरीक्षण, परीक्षण र प्रयोग गरिन्छ जहाँबाट वास्तविकता बोध हुन सकोस्; जुन वास्तविकता सत्य हुन सकोस् । त्यसैले बुद्धले सत्यको गहिराइमा पुग्नको लागि आफ्ना भनाइहरूलाई निरीक्षण परीक्षण र प्रयोग गर्न निर्देशन दिंदै भनेका छन् कि–
तपाच्छेदाच्य निकपात सुवर्णभिव पण्डितै स ।
परिक्ष्य भिक्षवो ग्राह्य भद्वचो ब तु गौरबात ।।

अर्थात मेरो बचन यस कारण नमानकि त्यो मैले भनेको हो अपितु राम्ररी परिक्षण गरेर मात्र ग्रहण गर । बुद्धको यो भनाइ व्यवहारमा उतार्ने हो भने राज्य स्वभावैले कल्याणकारी बन्न सक्दछ । बौद्ध दर्शनमा सत्यलाई दुई भागमा व्याख्या गरिएको छ । संवृत्ति सत्य र परमार्थ सत्य । सवृद्धि सत्य– अविधाका कारण इन्द्रियहरूको संसर्गवाद प्राप्त गरिने सत्य, अर्थात् सांसारिक सत्यलाई संवृत्ति सत्य भनिन्छ । प्रत्येक व्यक्तिले आफ्नो वरिपरिको वातावरणबाट जेजति सत्यको अनुभव गरेको हुन्छ। त्यसलाई उसको मानसिक स्थितिले प्रभावित पारिरहेको हुन्छ । अर्थात् इन्द्रियहरूको माध्यमबाट प्राप्त गरिने सत्यलाई काम, क्रोध, लोभ, मोह, भय, इष्र्या, द्वेष आदिले प्रभावित पारिरहेको हुन्छ । त्यसैले यस पृथ्वीमा भएका सवै मानिसहरुले सांवृत्तिक सत्य र परमार्थ सत्यलाई यथार्थ रुपमा बुझ्न सकेमा कल्याणकारी राज्य निर्माण गर्न सहयोग पुग्दछ ।

लोककल्याणकारी राज्यका विशेषता
उत्पादन र वितरणको सन्तुलन, सामाजिक न्याय, मानव अधिकारको संरक्षण र जनतालाई छिटो छरितो स्तरीय सेवा प्रदान गर्दै जनहितमा समर्पित राज्य नै लोक कल्याणकारी राज्य हो ।राज्य लोककल्याणकारी कसरी बन्न सक्छ भन्ने सन्र्दभमा आधुनिक राजनीतिक चिन्तकहरू विभाजित देखिन्छन् । माक्र्सवादीहरू राज्य लोककल्याणकारी हुनको लागि समाज ठीक हुनु पर्ने र समाज ठीक हँुदा व्यक्ति आफै ठीकहुने कुरामा जोड दिन्छन् भने बौद्ध चिन्तनहरु व्यक्ति ठीक भएको अवस्थामा मात्र समाज र राज्य कल्याणकारी हुने कुरामा विश्वास गर्दछन् ।

लोक कल्याणकारी राज्यको अवधारणा प्रचीनकाल देखि नै विकसित हँुदै आएको हो । महाभारतको शान्ति पर्व र बौद्ध साहित्यमा यस बारेमा व्यापक व्याख्या पाइन्छ । राज्यले मानिसको नैतिक जीवनलाई नियन्त्रण गरी पृथ्वीलाई बस्न योग्य बनाउँछ । वर्तमानमा लोक कल्याणकारी अवधारणाले महत्वपूर्ण स्थान ओगटेको छ । विश्वका सबैजसो मुलुकहरू आपूmलार्ई लोककल्याणकारी बनाउन चाहन्छन् । यस्ता राज्यमा जनताको सर्वोपरि स्थान हुन्छ । हरेक लोकतान्त्रिक राज्यहरूले यो सिद्धान्तलाई अबलम्बन गरेका छन् । यो सिद्धान्त अनुसार राज्य एउटा संघ हो । यसको लक्ष्य जनताको जीवनस्तर माथि उठाई उनीहरूलाई सुखी बनाउनु हो । यसले व्यक्तिवाद र समाजवाद दुवैलाई समन्वय गर्दछ । लोककल्याणकारी राज्यले व्यक्तिको स्वतन्त्रताको अपहरण गर्दैन । लोककल्याणकारी राज्यमा जनताको लागि विविधप्रकारकाअधिकारहरू प्राप्तहुन्छन् । नागरिकहरूले ती अधिकारको निर्वाध रूपमा उपयोग गर्दछन् ।राज्यले नागरिकका आर्थिक, सामाजिक, नैतिक र मानसिक विकासकालागि आवश्यक सहयोग गर्दछ । यसले शोषणको अन्त्यगरी मानिसको सर्वाङ्गीण विकासका लागि आवश्यक व्यबस्था मिलाउँछ । जनकल्याणकारी राज्यको प्रमुख लक्ष्य जनताको बढी भन्दा बढी कल्याण गर्नु र उनीहरूलाई शासन व्यवस्थामा सहभागी गराउनु हो । यसले हामी सबैको लागि हो र सबै हाम्रो लागि हो भन्ने भावनाको विकास गर्दछ ।

मानवताको सर्वोच्चतालाई स्वीकार गरिएको न्यायपूर्ण समतामूलक राज्य नै लोककल्याणकारी राज्य हो । लोककल्याणकारी राज्यका निम्न विशेषताहरु रहेका छन् ।

१. समाज सेवामा जोड दिने भएकाले लोककल्याणकारी राज्यलाई समाजसेवी राज्य भनिन्छ ।
२. यो सधैँ जनहितमा लागिरहन्छ ।
३. यसले शान्ति सुरक्षा कायम राख्दछ र लोकतान्त्रिक मान्यता अनुसार चल्दछ ।
४.यसले भेदभावरहित समाजको सृजना गर्दछ ।
५. जनकल्याण तथा नागरिक अधिकार वहालीको लागि क्रियाशील रहन्छ ।
६. भेदभावरहित समाजको सिर्जना गरी नागरिक स्वतन्त्रता र समानताको प्रत्याभूति गर्दछ ।
७.जनहितका लागि वचनबद्ध भई जनकल्याणलाई प्राथमिकतामा राख्दछ ।
८. नागरिकलाई आत्मनिर्भर बनाई आपसी सहयोगको भावना विकास गराउ“छ ।
९. जनतालाई अनुशासित बनाउने राज्यमा जनकल्याण जनहित, लोक समृद्धि सम्बन्धी आदर्शको
विकासमा बल पु¥याउने तथा राज्यमा सामाजिक न्याय कायम राख्ने कार्य लोककल्याणकारी राज्यमा हुन्छ । विशेष गरी एकका लागि सबै र सबैका लागि एक भन्ने पारस्पारिक सहयोगको भावनाको विकास गर्नु लोकल्याणकारी राज्यको विशेषता हो ।

वौद्ध दर्शन र लोककल्याण
बुद्धले बुद्धत्व प्राप्ती पछि पैतालिस वर्ष सम्म विभिन्न स्थानमा पुगेर जे जस्ता उपदेशहरू दिनुभयो । तिनीहरूलाई मूलरुपमा तीन भागमा विभाजन गरेर हेर्न सकिन्छ । सर्वप्रथम सामाजिक कार्यका लागि समुदायलाई दिइएका उपदेश । दोस्रो भिक्षुगणलाई दिइएका उपदेश । तेस्रो शासन व्यवस्था संचालन गर्ने शासकहरूलाई दिइएका उपदेश । तर तीन वटै क्षेत्रका लागि दिइएका उपदेशहरूको सार भने एउटै लोककल्याण अर्थात बहुजन हित र बहुजन सुखका लागि भएको देखिन्छ ।

समाजका लागि दिइएका उपदेशहरूलाई विश्लेषण गर्ने हो भने बुद्धका विचारहरु आधुनिक लोककल्णकारी व्यवस्थाका चरित्रहरूसँग मेल खाने खालका देखिन्छन् । जसलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ।

 

क) सामाजिक न्याय
लोककल्याणकारी राज्यमा अवसरहरूको सम्मान वितरण गरिन्छ । समाजमा अवसरहरूको समान वितरणले मात्र समाज सन्तुलित रुपमा मात्र अगाडी बढ्न सक्छ । बुद्धका विचारमा राज्यका नागरिकहरूलाई समान अवसर नदिने हो भने त्यो समाजमा अनेक पापकर्महरू उत्पत्ति हुन्छन । मानिसहरू चोरी गर्नु पर्ने, झुटो बोल्नु पर्ने बाध्यता आउँछ किनकि जब मानिस पेट भर्न पाउदैन त्यस बेला उसले पेटकै लागि गलत बाटो अवलम्बन गर्न पुग्दछ । त्यसैले बुद्धले भोकलाई सबैभन्दा ठुलो रोग भनेका छन् । त्यो रोग समाप्त गर्नका लागि निर्धनता अर्थात् गरिबी हटाउनु पर्ने बुद्धको तर्क आजको लोककल्याणकारी राज्यको विचारसंग मेल खान्छ । जव राज्यमा सबै नागरिकहरुको गाँस बासको समस्या समाधान गरिदैन । समाजमा निर्धनता हटाईदैन त्यहिँबाट विकृति अर्थात् पापकर्म सुरु हुन्छ । तसर्थ नागरिकहरूलाई पापकर्मबाट विमुख बनाउन उनीहरूको निर्धनता र भोकलाई समाप्त गर्नु पर्दछ । त्यसैले बुद्धले भनेका छन् कि जिगच्छा परमा रोगा, संखारा परमा दुखा अर्थात् भोक सबभन्दा ठुलो रोग हो र निर्धनता सबै पापको जननी हो ।

 

ख) राज्यको प्रगतिशील धारणा
लोककल्याणकारी राज्य प्रगतिशील राज्य पनि हो । यो राज्यमा जनहितलाई बढी महत्व दिईन्छ । जनकल्याण बाहेक लोककल्याणकारी राज्यको अर्को उदेश्य हुदैन । त्यसैले यो राज्यका लागि पश्चगमन स्वीकार्य हुदैन । अन्धविश्वास, जातीय भेदभाव र पक्षपात लोककल्याणकारी राज्यका चुनौतीहरू हुन् किनकि अन्धविश्वास जातिभेदको उपस्थितिमा राज्य आफ्नो उदेश्य परिपूर्तिका लागि सक्षम हुदैन । राज्यले नागरिकहरूको आर्थिक सामाजिक सांस्कृतिक नैतिक र मानसिक विकासका लागि सधैं सहयोग गर्ने भएकाले लोककल्याणकारी राज्यलाई प्रगतिशील राज्य पनि भनिन्छ । अग्रगमन र समृद्धि कल्याणकारी राज्यका कर्तव्यहरू हुन् तर समाजमा सदियौ देखि विद्यमान जातीय र वर्ग व्यवस्थाले अन्धविश्वासले राज्यहरू पूर्णरुपमा प्रगतिशील हुन सकेका छैनन् । यद्यपि उनिहरुलाई प्रगतिशील मार्गमा अगाडी बढाउन सदियौ देखि प्रयत्नहरु भईरहेका पाइन्छ ।

बुद्धले आजभन्दा छब्बिस सय बर्ष अगाडि वर्णव्यवस्था र जातिवादलाई खण्डन गरेर समाजलाई प्रगतिशील बाटोमा हिडाउन खोजेको देखिन्छ । बुद्धले सुत्तनिपातमा भनेका छन् कि जन्मका कारण कोहि पनि ठुलो सानो हुदैन । अश्वलायनसुत्तमा उनले जातिवाद ठिक नभएको बताएका छन् । त्यस्तै सुन्दरीकभारद्वाजसुत्रमा उनले जाति होइन्, आचरण सोध भनेका छन् । यसरी बुद्धले नैसर्गिक जाति व्यवस्था र जाति व्यवस्था खण्डन गरेका छन् बुद्धको यो उद्देश्यमा सम्पूर्ण मानव समुदायहरुलाई समान बनाउन खोजेको प्रतित हुन्छ । जुन प्रगतिशील राज्य व्यवस्थाको प्रमुख विशेषता मानिन्छ ।

समाजमा अन्धविश्वासपूर्ण सामाजिक मान्यता रहुन्जेल सम्म कुनै पनि राज्यको प्रगतिशील रुपान्तरण सम्भव छैन । बुद्धकालमा समाजको त्यस्तै स्वरूप थियो अर्थात् समाज अन्धविश्वासले जकडीएको थियो । बुद्धले त्यो समाजलाई रुपान्तरण गर्नु आफ्नो कर्तव्य सम्झिए । फलस्वरूप बौद्ध नीतिशास्त्रको आधारशिला नै खडा भयो । त्यसले समतामुलक समाजदर्शनको मान्यता पायो त्यो नै आजको कल्याणकारी राज्यको आधारस्तम्भ हो ।

बुद्धले आफ्नो समाजदर्शनमा जातिभेद र बर्गभेदलाई स्थान दिएका छैनन् । उनको दृष्टिमा सबै मानिस समान छन् । त्यसैले उनको धर्म सबैले सहजै ग्रहण गरेका थिए । जुन कथित दलित जाति र निम्न जातिका लागि यो स्वर्णिम अवसर थियो । किनकि विना भेदभाव उनीहरु बौद्धधर्ममा दीक्षित हुन पाएका थिए । यो धर्ममा जातिलाई भन्दा पनि नैतिकता र आचरणलाई अधिक जोड दिईएको थियो । आचरण र नैतिकता हुने जो कुनै पनि मानिस बुद्धधर्ममा समावेश हुन सक्दछ । त्यसैले बुद्धधर्म एउटा प्रगतिशील जीवन दर्शन होभन्दा पनि फरक पर्दैन ।

बुद्धले आफ्नो भिक्षु संघ मार्फत एउटा त्यस्तो स्वर्णिम समाज बनाउने सपना देखेको देखिन्छ जुन समाजमा आर्थिक समानता र जनतान्त्रिक विधानलाई सर्वमान्य मानिएको होस् । उत्पीडित जातिको उद्धार बुद्धले केवल भनेर होइन व्यवहार मै उतारेका थिए । भिक्षुसंघमा चन्डाल र ब्राह्मण एकै ठाउँ हुनु यसैको ज्वलन्त उदाहरण हो ।

प्राचीनकालमा ब्राह्मणको सम्मानित स्थान थियो भने शूद्रको स्थान अपमानित थियो । जुन प्रगतिशील समाजव्यवस्थाको वाधक थियो । ब्राह्मणहरूलाई तत्कालिन समाजमा समस्त धर्म, दर्शन र चिन्तनको प्रेरणाको श्रोत मानिन्थ्यो । त्यसले समाजमा ठुलो सामाजिक खाडल बनाएको थियो । बुद्धले ब्राह्मणहरुको सन्दर्भमा त्यस्तो निषेधात्मक हुने अभिव्यक्ति दिएनन । बरु त्यसको स्थानमा अत्यन्त प्रज्ञापूर्ण रुपमा उच्च ठानिएका ब्राह्मण र निच ठानिएका शूद्रहरूको विषयमा अत्यन्त सान्दर्भिक विषय अगाडी बढाए । उच्च जातको स्त्रीको कोखबाट जन्मिएको कारण मात्र कोहि ब्राह्मण हुन सक्दैन बरु ब्राह्मण त् त्यो हो जो अपरिग्रहि र त्यागी छ ।

बुद्धले जसले अर्हत पद प्राप्त गर्दछ उसैलाई ब्राह्मण मानेका छन् ध्यानी निर्मल आश्रवरहितलाई ब्राह्मण मानेका छन् उनले भनेका छन् कि । यसबाट के देखिन्छ भने बुद्ध कुनै पनि जात विशेषलाई ब्राह्मण मान्ने पक्षमा थिएनन् । उनको दृष्टिमा शुद्ध आचरणका जो कोहि पनि ब्राह्मण बन्न सक्दछ । जुन वर्ण व्यवस्थाको प्रतिकूल र समतामुलकव्यवस्थाको पक्षमा थियो । अर्को शब्दमा वर्ण व्यवस्थाका सम्बन्धमा बुद्धको प्रगतिशील धारणा थियो जुन आजको समाजका लागि पनि त्यतिकै सान्दर्भिक छ । बुद्धले ब्राह्मणको व्याख्या गर्दै भनेका छन् कि ब्राहमण उच्च कुलमा जन्मेर पनि हिंस्रक चोर मित्थ्या आचरणले युक्त चुक्लिखोर बकवासी लोभी द्वेषपूर्ण झुठो धारणा गर्ने हुन सक्दछन । त्यसैले जन्मका आधारमा मात्र सबैलाई ब्राह्मण भन्न सकिदैन । निचकूलमा जन्मेर पनि कोहि हिंस्रक, बकवासी र चुक्लिखोर हुदैन । द्वेषी र झुठो आचरण नगर्नेे ब्राह्मण हुन सक्छ । त्यसैले उच्च कूलीनतालाई मात्र ब्राह्मण भन्न सकिदैन । बुद्धका अनुसार जुन मानिस कामनाहरूबाट टाढा छ, निर्भय र अनाशक्त छ त्यसलाई ब्राह्मण भन्न सकिन्छ । अपरिग्रही, त्यागी, क्षमावली, अन्तिम शरीरधारी, भोगमा अलिप्त, आशक्ति रहित मार्ग अमार्गको ज्ञाता संसर्गरहित अहिंसक रागरहित सत्यवक्ता आशारहित निर्वाणप्राप्त पुण्यपाप रहित तृष्णा नष्ट मोहत्यागी भोग तथा जन्मकष्ट वन्धनमुक्त रति अरती त्यागी अर्हत अकिंचन प्रज्ञापूर्ण आदि गुणले युक्त ब्राह्मण हुन सक्दछन । ब्राह्मणका लागि बनाएको यो मापदण्डले कुनै कुलीन व्यक्तिलाई मात्र बाह्मण मानेको छैन बरु त्यस्तो चरित्र हुने अरु कसैलाई पनि ब्राह्मण मान्न सकिने बुद्धको तर्क समाजमा जातीय रुपमा रहेको खाडल समाप्त पार्ने एउटा क्रान्तिकारी अभियान हो भन्न सकिन्छ । यसले समाजलाई प्रगतिशील मार्गमा पु¥याउन सहयोग पुग्ने देखिन्छ ।

वर्णव्यवस्थामा मात्र होइन बुद्धको प्रतित्यसमुत्पादको दर्शन पनि राज्यको प्रगतिशील धारणासंग जोडिएको छ । बौद्ध दर्शनमा कुनै कुराको उपस्थिति कुनै पनि कारणमा आधारित हुन्छ । लोककल्याणकारी राज्य समस्या रहित राज्य होइन बरु समस्याहरुलाई यथार्थपरक रुपमा समाधान गर्ने बाटो हो । समाज चाहे प्रगतिशिल होस् वा चाहे परम्परागत हरेक राज्यले समस्याको समाधानका लागि त्यसको कारणलाई पत्ता लगाउनु पर्छ । यद्दपी प्रगतिशील वा लोककल्याणकारी राज्यले त्यस्ता समस्याहरुलाई समाधान विना द्वेष, विना आग्रह, विना भेदभाव समाधान गर्नका लागि उद्धत रहन्छ । तर त्यसको विपरित निरंकुश व्यवस्था अर्थात् एकतन्त्रीय व्यवस्थामा समस्याहरूको समाधान आफ्नो अनुकूल गर्ने भय सधै रहन्छ किनकि त्यस्ता व्यवस्थाहरूमा विधि भन्दा पनि नेतृत्व हावी हुन्छ जहाँ विधि प्रधान हुन्छ त्यहाँ समस्याको समाधान आग्रह रहित अर्थात् दोष रहित गरिन्छ त्यसैले बौद्ध तत्वज्ञानमा बुद्धले स्थापित गरेको प्रतित्य समुत्पादको सिद्धान्त राज्यको समस्या सहि तरिकाले समाधान गर्ने साधन बन्न सक्दछ ।

 

ग) आत्मनिर्भर तथा आपसी सहयोग
असन्तुलित जीवन रहँदा सम्म मानिस आत्मनिर्भर र स्वतन्त्र रहन सक्दैनन् । न त उनीहरु प्रगति नै गर्न सक्दछन् । त्यसैले आर्थिक रुपमा आत्मनिर्भरता मानव जीवनको महत्वपूर्ण पाटो हो । त्यसैले हरेक लोककल्याणकारी राज्यको उद्देश्य नागरिकहरुको आर्थिक जीवन माथि उठाउनु हुन्छ अर्थात् जनताका बढी भन्दा बढी माग पुरा गर्ने संस्थाका रुपमा कल्याणकारी राज्यलाई लिईन्छ । बुद्धका विचार पनि लोककल्याणकारी राज्यकोयस मान्यता संग मेल खान्छ। बुद्धले नैतिक आध्यात्मिक र दार्श्निक विषयमा बाहेक आर्थिक र राजनैतिक विषयमा पनि प्रशस्त उपदेश दिएको पाईन्छ । बुद्धको विचारमा समाजमा दुराचार, हिँसा, चोरी अशान्ति आदि बढ्नुको कारण आर्थिक अभाव हो । किनकि आर्थिक अभावका कारण जीवन बचाउनका लागि मानिसहरु चोरी गर्दछन, लुटपाट गर्दछन्, डकैति गर्दछन् ।जव समाजमा लुटपाटरडकैति हुन्छ, त्यसबेला स्वभावैले समाज अशान्त हुन्छ ।अर्थात् हिँसा प्रतिहिँसाहरु बढेर जान्छन् । बुद्धका विचारमा अपराधीहरूलाई जति सुकै ठुलो दण्ड दिएतापनि आर्थिक समस्या समाधान नहुँदा सम्म समाजमा अपराधीहरु समाप्त हुदैनन् । त्यसैले बुद्धले समाजमा अपराध कर्महरू घटाउनका लागि निम्न आय भएका व्यक्तिहरूको आर्थिक उन्नति हुनुपर्ने दीघनिकायको कुटदन्त सुत्तमा उल्लेख भएको पाइन्छ । जुन सूत्रमा उल्लेख भएका विचारहरू अहिलेको कल्याणकारी राज्यको सिद्धान्तहरूसंग मेल खान्छन् । बुद्धले भनेका छन् कि गरिवी नै अपराध, चोरी, असत्यता, घृणा, निन्दनीय कर्म र हिँसाको कारण हो । कुटदन्त सूत्र अनुसार सरकार अथवा राज्यले अपराधीहरुलाई सजाय दिएर अपराध निर्मुल गर्न खोज्नु भन्दा मानिसहरुको गरिबीलाई हटाई उनीहरूको आर्थिक सुधार गर्ने दिशामा काम गर्नु पर्दछ । आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार व्यवसायमा लागेकाहरूका लागि पुँजी अर्थात् धन र समानहरू उपलब्ध गराई सहज रुपमा काम गर्ने वातावरण बनाई दिनुपर्दछ । मजदुरी गर्नेहरूका लागि उचित ज्याला, भात वेतन, दिनु पर्दछ । त्यस्तै कृषि कर्ममा लागेका कृषकहरूका लागि खेतमा लगाउने बिउ खानका लागि भात वेतन, खेतमा काम गर्दा चाहिने अन्य सरसामान उपलब्ध गराउनु पर्दछ । जुन कल्याणकारी राज्यको अनिवार्य कर्तव्य मानिन्छ । यसबाट के देखिन्छ भने प्रशस्त आम्दानि गर्ने वातावरण हुन सक्यो भने मानिसहरू सन्तुष्ट हुन्छन । मानिसहरू सन्तुष्ट हुन सकेमा समाजमा चिन्ता र भय हुदैन जसको परिणाम स्वरूप राज्य शान्त र अपराधमुक्त हुन्छ । त्यसबेला मानिसहरु मुदित भई काखमा बालकहरु चलाउँदै घरका दैलाहरु खुला राखी बस्दछन् । यद्यपि बौद्ध दृष्टिमा राज्यका नागरिकहरुको आर्थिक उन्नति साध्य नभएर एउटा साधन मात्र हो । यसको अर्थ तृष्णा र आशक्ति बढ्ने गरी धनको आर्जन होइन कि आर्थिक र सामाजिक रुपमा अभावपूर्ण जीवन कसैले पनि जिउन नपरोस् । आर्थिक अभावकै कारण समाजमा अपराध नहोस भन्ने दृष्टिबाट बुद्धले आधारभूत बर्गको आर्थिक जीवन सुदृढ बनाउन सकिने बताएको पाइन्छ । किनकि बौद्ध धर्ममा आर्थिक साध्य भनेको बोधीचित्त उत्पन्न गरी सबै पारमिताहरु पूर्ण गरी बुद्धत्व लाभ गर्नु हो ।अर्थात् शिल, समाधि र प्रज्ञाबाट पारङ्गत भई निर्वाण प्राप्त गर्नु हो । त्यसैले पुण्य कार्य गर्न सहजता होस् भन्ने आशयले बुद्धले गृहस्थीहरुका लागि चारआवश्यक कुरा बताउनु भएको छ । प्रथमत् मानिसहरुले आफुले अपनाएको पेशाबारे सबैले जानकारी राख्नु पर्दछ । आफ्नो पेशामा सिपयुक्त, सिपालु, लगनशील र उर्जावान हुनुपर्दछ । दोस्रो व्यक्तिले आफ्नो आम्दानीका लागि आफै श्रम गर्नु पर्दछ । तेस्रो इमान्दार, ज्ञानी, जान्ने, बुझ्ने, गुणवान, ठुलो उदारमन भएको जेहेन्दार अकुशल वा पापकर्म नगर्नेलाई मात्र साथि बनाउनु पर्दछ । चौथो आफ्नो आम्दानीको अनुपातमा खर्च गर्नु पर्दछ । अति खर्ची र अति बेखर्ची बन्नु हुदैन ।

लोककल्याणकारी व्यवस्थामा नागरिकहरू आत्मनिर्भर र सहयोगी हुन्छन् । नागरिक आत्मनिर्भर हुन सकेको खण्डमा मात्र कुनै पनि व्यवस्था बलियो हुन सक्छ । बुद्धले व्यक्तिलाई आत्मनिर्भर बनाउने विषयमा गम्भिर देशना गर्नु भएको छ । चक्कवत्ति सूत्रमा उनले भनेका छन् कि भिक्षुहरूहो अत्तदीप आफनै दीप बनी विहार गर । आफ्नै शरण लेऊ । अर्काको शरण नलेऊ । धर्म दीप, धर्म शरण भई विहार गर । अर्काको शरण नलेऊ । भिक्षु हो कसरी भिक्षु अत्तदीप बनी विहार गर्ने, कसरी आफ्नै शरण लिने, अर्कोको शरण नलिने, कसरी धर्मदीप भई बस्ने, कसरी धर्म शरण गर्ने, कसरी अर्कोको शरण नलिने ? भिक्षु हो यहाँ भिक्षु कायमा कायानुपश्यी भई लोकमा अविद्या दौर्मनस्यलाई हटाई आतप्त गरी सम्प्रज्ञानी भई स्मृतिवान् भई विहार गर्छ । वेदनामा वेदनानुपश्यी भई विहार गर्छ । चित्तमा चित्तानुपश्वी भई विहार गर्छ, धर्ममा धर्मानुपश्वी भई विहार गर्छ । भिक्षु हो यसरी भिक्षुु अत्तदीप भई विहार गर्छ, आफ्नै शरण लिन्छ , अर्कोको शरण होइन, धर्मदीप धर्म शरण भई विहार गर्छ अर्काको होइन । अर्थात् आफ्नो लागि आफै प्रकाश तथा उँचो स्थान बन । व्यक्ति बलियो र आत्म निर्भर आफ्नै कारणले हुन्छ । कमजोर पनि आफ्नै कारणले हुन्छ । व्यक्तिले आपूmलाई कुन मार्गमा लगाउने, सुमार्ग या कुमार्गमा त्यो उसको आफ्नै हातमा हुन्छ । त्यो क्षमता पनि व्यक्तिको आफ्नै हातमा रहेको हुन्छ । असल कामले व्यक्तिलाई सुमार्गमा लाग्नको लागि प्रेरणा प्रदान गरेको हुन्छ । सुमार्ग भनेको प्रकाशमार्ग पनि हो जुन प्रकाशले व्यक्ति अत्मनिर्भर बन्न सक्छ र निर्वाणतर्फ उन्मुख गराउँछ । बुद्धले प्रत्येक व्यक्तिलाई सुमार्गमा लाग्नको लागि प्रेरणा दिनु भएको छ । बुद्धको दर्शनमा व्यक्तिलाई नैतिक चेतनायुक्त र प्रकृतिको प्रवाहलाई ठीक तरिकाले बुझ्न सक्नु नै आत्मनिर्भर हुनु हो ।

बुद्धले दार्शनिक रूपमा मात्र व्यक्तिलाई आत्मनिर्भर बनाउने कुरा गरेका छैनन् । उनले व्यक्तिलाई सीप सिकाउने कुरा पनि गरेका देखिन्छ । सिंगालोवाद सूत्रमा छोराछारीलाई शिल्पविद्या सिकाउनुु बाबु आमाको कर्तव्य भएको भन्नु उनीहरूलाई आत्मनिर्भर बनाउनु हो किनकि शिल्प सिकेको कुनै पनि व्यक्ति परनिर्भर हुनु पर्दैन । यसरी लोककल्याणकारी राज्यका नागरिकहरू आत्मनिर्भर हुने कुरा बौद्धदर्शनमा पनि प्रस्ट रूपमा देखिन्छ । आत्मनिर्भरताको लागि व्यक्तिको इच्छाशक्तिमा पनि भर पर्दछ । अल्छी र आलस्यपन इच्छाशक्तिका बाधक तत्वहरू हुन् । सिंगालोवाद सूत्रमा बुद्धले अल्छीपनको खरो रूपमा विरोध गर्नु भएको छ जसमा अल्छीपनका छ दोषहरू उल्लेख गर्दै भनिएको छ कि गृहपति पुत्र अल्छी पनमा लाग्नेका छ दोेषहरू हुन्छन् । १. सारै जाडो छ भनी काम गर्देन । २. सारै गर्मी छ भनी काम गर्देन । ३. धेरै साझ परिसक्यो भनी काम गर्देन । ४. धेरै सबेरै छ भनी काम गर्देन । ५. धेरै खाएको छु भनी काम गर्देन । ६. धेरै भोक लागेको छ भनी काम गर्दैन । यसरी धेरै काम पन्छाउने गरी बस्नेहरूमा उत्पन्न नभएका भोग सम्पत्ति उत्पन्न हुन्छन् । उत्पन्न भएका भोगसम्पत्तिहरू पनि क्षय भएर जान्छन् । गृहपतिपुत्र, अल्छीपना हुनेहरूका यिनै ६ दोषहरू हुन्छन् ।यसबाट के देखिन्छ भने काम गर्ने समयमा कुनै पनि बहानाबाजी बनाउनाले व्यक्तिको कुनै वृत्तिविकास हँुदैन । व्यक्ति आत्मनिर्भर बन्ने हो भने उसले आपूmमा भएको अल्छीपनलाई परित्याग गर्नुपर्छ । त्यसले मात्र व्यक्ति आत्म निर्भर बन्न सक्छ । कुनै पनि कामको लागि अरुको बाटो कुर्ने कुराले कसैको पनि विकास हुँदैन । त्यति मात्र होइन कि प्रकृतिले सबै मानिसलाई आत्मनिर्भर रहनको लागि कुनै न कुनै विशिष्ट गुण अवश्य पनि दिएको हुन्छ । त्यो क्षमतालाई पहिचान गर्न सके मानिस आत्मनिर्भर बन्न सक्छ । तर त्यसका लागि उसले अल्छीपन त्याग्नु अनिवार्य हुन्छ । अल्छीपन त्याग नगर्ने हो भने व्यक्तिमा रहेको प्राकृतिक विशिष्ट क्षमता पनि समाप्त भएर जान्छ । सिंगालोवाद सूत्रमा अल्छीपन त्याग गरी आत्मनिर्भर हुने कुरा उल्लेख गरिएको छ, जुन सबै लोककल्याणकारी राज्यको आवश्यकता हो ।

आत्मनिर्भरताको सबालमा बुद्धलेराज्य प्रमुखको भरमा मात्र नबस्न स्पष्टसन्देश दिनु भएको छ । बुद्ध राजगृहको बेलुबनाराममा बसेको बेला अजातशत्रुले देवदत्तका सहायकहरूलाई पाँचसय गाडामा पाँचसय भाडामा भरेर बिहान बेलुका भोेजन पु¥याइरहेका थिए । यस विषयलाई पालि भाषामा उल्लिखित त्यो देखेर उहाँलाई त्यो काम ठीक हो कि होइन भनी सोधियो । बुद्धले जबाफमा भन्नुभयो कि भिक्षुहरू हो राज्य प्रमुखहरूबाट लाभ सत्कार खुसामदको इच्छा नगर, जबसम्म अजातशत्रुले पाँचसय गाडाहरूमा भोजनले भरिएका पाँचसय भाडाहरू लादेर देवदत्तका सर्मथकहरू बसेको स्थानमा पु¥याइन्छ, त्यसबेलासम्म यसबाट देवदत्तहरूलाई हानी मात्र हुनेछ लाभ हुने छैन । उहाँले त्यो कार्यलाई लोभी कुकुरको नाकमा मासु पु¥याउने कुरासँग तुलना गर्दे भन्नु भयो कि कुकुरको नाकमा मासु पु¥याउनु भनेको उसलार्ई अझबढी लोभी तुल्याउनु हो ।

यसरी जबसम्म अजातशत्रुले पाचसय गाडीहरूमा भोजनले भरिएका पाँचसय भाडाहरू लादेर देवदत्त सर्मथकहरू बसेको ठाँउसम्म साँझविहान पु¥याउलान् तबसम्म यसमा देवदत्तलाई हानी मात्र हुनेछ । लाभ हुने छैन । भिक्षु हो राज्य प्रमुखहरूबाट पाइने लाभ सत्कार, खुसामद र भेटी आदि ज्यादै भयानक हुन्छन् । तिनीहरू शान्ति प्राप्त गर्ने मार्गमा ज्यादै नै कटु र दुखद बाधाहरू हुन् । त्यसैले भिक्षुहरू हो यस्तो बानी बसाल्न सिक्नु प¥यो कि लाभ सत्कार खुसामद भेटी आदि प्राप्त भए पनि अस्वीकार गरौँ । तिनीहरू हाम्रो शिरमाथि आइलागे पनि हामीलाई वशमा पार्न नसकुन् हृदयमा त्यसलाई स्थान नदिऔँ । यस्तो गर्दा हामी राजकुमारहरूको दास बन्ने छैनौ । बुद्धको यो भनाई बाट पुष्टि हुन्छ कि अरुको निगाहामा होइन कि आफ्नै बलबुतामा बाच्न सिक्नुपर्दछ । यहाँ सम्म कि राज्य प्रमुखहरूले दिने सहयोगले पनि मानिसहरूलाई पराधिन बनाउँछ । त्यस्तो सहयोगले तत्कालको लागि लाभ भए पनि दीर्घकालमा त्यसले मानिसहरूलाई परावलम्बी बनाउँछ । तसर्थ अरुको सहयोगको आशामा होइन कि आफ्नै पौरखमा बाच्न सिक्नु पर्छ त्यसले मात्र आत्मनिर्भर बनाउनको लागि सहयोग पु¥याउँछ । यो लोककल्याणकारी राज्यको विशेषता पनि हो ।

घ) सेवामुखी राज्य
कुनै पनि कल्याणकारी राज्य सेवामुखी हुन्छ । कल्याणकारिता भनेकै सेवा हो । सेवालाई सम्पूर्ण सत्वप्राणीहरुको सेवा गर्ने अर्थमा लिन सकिन्छ । किनकि बौद्ध दर्शनले प्रकृतिमा रहेका सम्पूर्ण प्राणीहरुको सेवाका लागि प्रेरित गर्दछ। कल्याणकारी राज्यको प्रसंगमा सेवा गर्नु भनेको मनुष्य जातिको सेवा गर्नु हो । मानिसहरूको सेवा गर्ने माध्यम दुईवटा छन् । प्रथमत एउटा मानिसले अर्को मानिसलाई विभिन्न रुपमा सहयोग र सेवा गर्न सक्दछ । जसलाई व्यक्तिगत सेवा भन्न सकिन्छ । त्यसैगरी मानिसहरूलाई राज्यको तर्फबाट गरिने सेवालाई राजकीय सेवा भन्न सकिन्छ । सेवामुखी कल्याणकारी राज्यको चर्चा गर्दा दुवै तहबाट गरिने सेवालाई लिन सकिन्छ । प्रकृतिमा रहेका हरेक प्राणीहरु त्यसमा पनि मानिसहरू समाजमा सम्मानजनकरुपमा जीवन जिउन चाहन्छन । उनीहरूको आधारभुत आवश्यकताहरु पुरा गर्नु पर्ने दायित्व राज्यको हुन्छ । खान पाउने, बस्न पाउने, लाउन पाउने अधिकार प्रकृतिका सबै मानिसहरुको आधारभुत अधिकार हो । बौद्ध दर्शनले मानिसहरुका तिनै आधारभुत आवश्यकताहरुलाई परिपूर्तिका लागि सबैलाई प्रेरित गरेको छ । दानपरमिता यसैको उदाहरण हो । यहाँ दान दिनु भनेको केवल पुण्य आर्जनको मनोभाव मात्र होइन त्यस भित्र परोपकार, सेवा र समानता पनि अन्तर्नि्हित छ । कसैलाई दान दिनु भनेको उसलाई सेवा गर्नु हो । तर पछिल्लो अवस्थामा यो विषयलाई श्रद्धाको विषय बनाउँदै संकुचन बनाउन थालिएको छ । बौद्ध दर्शनमा श्रद्धापूर्वक अरुको आवश्यकता पुरा गर्नु हो । राज्यले आफ्ना प्रत्येक नागरिकलाई सकेसम्मको सेवा दिनु पर्दछ ।खान, लाउन, बस्न दिने कुरा राज्यको दायित्व हो । यसैलाई बौद्ध दर्शनमा दानको रुपमा व्याख्या गरिएको छ । दान दिनेकुरा केवल भौतिक वस्तुहरुको व्यय मात्र होइन । हरेक दुखमा परेका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता पूर्ति गरिदिने कुरा पनि दानअर्थात् सेवा हो । बुद्धले प्रत्येकले दानदिने कुरालाई प्रेरणा दिंदै यसको पुण्य प्राप्त हुने कुरा बताएका छन् । बुद्धको सन्दर्भमा पुण्य एउटा पवित्र शब्द हुन सक्छ तर प्रत्येक दुखमा परेका नागरिकहरुले सेवा प्राप्त गर्दा त्यसको श्रेय राज्यले लिन्छ। त्यतिबेला राज्यमा दुखिहरु असहायहरु हुदैनन् र राज्य स्वभावैले कल्याणकारी बन्न सक्छ । यद्यपी दान दिंदा निष्काम हुनुपर्छ भन्ने कुरा निष्कामपारमिताबाट जान्न सकिन्छ । कसैलाई सेवा गर्दा अर्थात् दान दिँदा स्वार्थरहित हुनु पर्छ अर्थात् निष्काम हुनु पर्छ । स्वार्थपूर्ण गरिने कुनै पनि व्यवहार दान हुन् सक्दैन । न त त्यो सेवा नै हुन सक्दछ । त्यसैले बुद्धले दान पनि निष्कामपुर्वक हुने कुरालाई प्रेरित गरेको देखिन्छ । कुनै पनि स्वार्थ विना सेवा गर्ने कुरालाई राज्यका नागरिकले कर्तव्य बनाउन सकेको खण्डमा त्यो राज्य सेवामुलक र कल्याणकारी हुन्छ ।

निष्कर्ष
राज्य उत्पतिका मूल आधारहरु गरिबी, अभाव र भोक हुन् । पृथ्वीमा मानव सभ्यताको उत्पत्तिकाल देखि नै अभाव, गरिबी र भोक पनि संगसंगै उत्पत्ति भएको पाइन्छ । जसको निराकरण गर्न चोरी गर्ने, अर्काको सम्पत्ति खोस्ने जस्ता अपराध कर्म नियन्त्रण गर्न र समाजलाई नियमन गर्न राज्यका विभिन्न अंगहरुको उत्पत्ति भएको देखिन्छ । त्यसमा पूर्वीय दार्शनिक एवम् चिन्तक र पश्चिमा दार्शनिक तथा चिन्तकहरुविच समान धारणा रहेको पाइन्छ । यद्यपी समाजलाई रुपान्तरण गर्ने सन्दर्भमा पूर्वीय दृष्टिकोण र पश्चिमी दृष्टिकोणमा भिन्नता देखिन्छ । पश्चिमा चिन्तकहरु राज्यलाई बलियो बनाउन बल प्रयोगलाई पनि स्वीकृति दिएको देखिन्छ । बौद्ध चिन्तनले त्यो विचारलाई ठाडै अस्वीकार गर्दछ । आध्यात्मिक अस्त्रलाई बौद्ध चिन्तनले प्राथमिकता दिएको देखिन्छ । न्याय प्रणालीका विषयमा भने बौद्ध चिन्तनका मुलभूत मान्यताले अहिलेको राज्य प्रणालीमा निरन्तरता पाएको देखिन्छ । समग्रमा बौद्ध दर्शनले राज्यललाई धर्मराज्य बनाउन चाहेको देखिन्छ जुन आधुनिक लोककल्याणकारी राज्य हो भन्दा फरक पर्दैन ।
लोक कल्याणकारी राज्यका सन्दर्भमा आधुनिक राजनीतिक चिन्तकहरुले गरेको व्याख्या अधुरो र एकांकी देखिन्छ । आधुनिक राजनीतिक चिन्तकहरुले आफ्नो लोककल्याणकारी राज्यको परिभाषामा नागरिकको आर्थिक पक्षलाई जोड दिएको देखिन्छ । त्यसैले यो परिभाषा अपुरो छ भन्न सकिन्छ । त्यस बाहेक बौद्ध चिन्तनले नागरिकको आर्थिक पक्ष मात्र हैन अवसरमा समानता, सामाजिक न्याय, बन्धुत्व जस्ता विषयलाई बढी जोड दिएको छ । तसर्थ यो भन्न सकिन्छ कि बौद्ध दर्शनको माध्यमबाट राज्य पूर्ण रुपमा कल्याणकारी बन्न सक्दछ भन्ने कुरा किटान गरी भन्न सकिन्छ ।
आम धारणा यो छ कि राज्यको उत्पत्तिसम्बन्धी सिद्धान्त अध्ययनका लागि मानिसहरू पाश्चात्य सिद्धान्तलाई प्रमुख सहारा लिन्छन् तर पाश्चात्य सिद्धान्त पुर्वीय सिद्धान्तको जगमा खडा छ भन्ने कुरा भुल्न सकिँदैन । आधुनिक युरोपमा जब राजनीतिक चिन्तन धाराको प्रवाह भएको पृष्ठभूमिमा पाश्चात्य चिन्तकहरूले राज्यको उत्पत्ति सम्बन्धी प्रशस्त बौद्धिक खुराक दिएका छन् । प्रस्तुत अध्यायले राज्यको उत्पत्ति सिद्धान्तका लागि पाश्चात्य विद्वान्हरु मात्र सर्वज्ञ नभएको अकाट्य प्रमाण दिन्छ । राज्यको उत्पति सम्बन्धमा आज सम्म जति पनि विचार सिद्धान्तहरूको प्रवाह भएको छ त्यसको उत्पादनमा अनेक अज्ञात मष्तिष्कको योगदान रहेको छ । जसमा पूर्वीय दार्शनिक चिन्तकहरुको समेत ठुलो योगदान रहँदै आएको कुरा सर्वविदितै छ. । जसमा बुद्ध जस्ता महान मनिषिहरूको बुद्धिको परिष्कृत उपज पश्चिमा चिन्तकहरुको विचार हो भन्न सकिन्छ ।

सन्दर्भ सामग्री

अम्बेडकर, भीमराव रामजी, भगवान बुद्ध र उहाँको धर्म, (नेपाली अनु. ललितरत्न शाक्य), पोखरा ः दायक सभा, धर्मशीला बुद्ध विहार, वि.सं.२०६७ ।
उपाध्याय, बलदेव, बौद्ध दर्शन मीमांसा, वाराणसी ः चौखम्बा विद्याभवन, सन् १९९९ ।
जोन बाल्डन, सोसियल पोलिसी, सोसियल वेलफेयर एण्ड वेलफेयर स्टेट, अक्सफोर्ड ः अक्सफोर्ड युनिभर्सिटि प्रेस, सन् २०१९ ।
पाण्डे, संगमलाल, बौद्ध समाज दर्शन, बाराणासी ः केन्द्रिय उच्च तिब्बती शिक्षा संस्थान, सन् १९९५।
बर्मा, अशोक कुमार, प्रारंम्भिक समाज एवं राजनीति दर्शन, वाराणसी ः मोतीलाल बनारसीदास, सन् १९९९ ।
भण्डारी, बुद्धिबहादुर, राजनीति शास्त्रको सिद्धान्त र विश्लेषण, काठमाडौंः पैरवी प्रकाशन, वि.सं. २०६६ ।
भिक्षु अमृतानन्द (अनु.), धम्मपद, काठमाडौं ः आनन्द कुटी विहार, वि.सं.२०७० ।
भिक्षु धर्मरक्षित (अनु.), सुत्तनिपात, दिल्ली ः मोतिलाल बनारसीदास प्रकाशन प्रा.लि.,सन् २०१४ ।
भिक्षु अमृतानन्द, बुद्धकालिन ब्राह्मण भाग २, काठमाडौं ः आनन्दकुटी विहार सन् २००० ।
मिश्र, जय शंकर, प्राचीन भारतीय साहित्यकी इतिहास, सन् १९९२ ।
शाक्य, ज्योति, “बौद्ध धर्म र गृहस्थ सुख”, आनन्दभूमि, काठमाडौँ ः आनन्दकुटी बौद्ध विहार, बर्ष ११, अंक–२, , सन् १९८३ ।
शिवाकोटी, गोपाल, राज्य, शासन र सुशासन, काठमाडौंः पैरवी प्रकाशन, २०७१ ।
सांकृत्यायन, राहुल, महामानव बुद्ध,, लखनउ ः बौद्ध समिति बुद्ध विहार, सन् १९५६ ।

error: Sorry, the content is protected !!