बौद्ध र जैनदर्शनको तुलनात्मक अध्ययन

ज्ञानदेव हटुवाल, पिएच डी

लेख सार
ईशा. पूर्व छैठौँ र पाँचौ शताब्दीमा सिर्जित भएका यस हिमाली उप–महाद्विपका बौद्धदर्शन र जैनदर्शन महŒवपूर्ण दार्शनिक विचार प्रणाली हुन् । यी दर्शनहरुको प्रभाव क्षेत्र एवं विस्तारदेखि लिएर यसका मुख्य प्रतिपादक गौतम बुद्ध र वर्धमान महावीरको समेत जीवन परिचयका साथ यस लेखनलाई शार संक्षेपका रुपमा समावेस गरिएको छ ।

प्रमुख शब्दावली
बौद्ध दर्शन, जैन दर्शन, तत्व, ज्ञान, प्रमाण

उद्देश्य
यस लेखनको प्रमुख उद्देश्य बौद्धदर्शन र जैनदर्शनको तुलनात्मक रूपमा जानकारी प्रदान गर्ने खालको विषयवस्तुको संक्षेपिकरण र यसका प्रमुख विषयवस्तुहरूको जानकारी प्रदान गर्नु रहेको छ । कसैले पनि बौद्धदर्शन जस्तो अत्यन्त विपुल ग्रन्थ सम्पदाहरूले भरिपूर्ण रहेको र सोही अनुरूप ठूला ठूला विद्वान् आचार्यहरूको रचना कर्मले ओतप्रोत रहेको जैनदर्शनका मुख्य मुख्य सारलाई एकसाथ प्रस्तुत गर्नु र यसको अध्ययनका लागि रूची राख्नेहरुका लागि पनि अत्यन्त सुगम होस् भन्ने उद्देश्यले यो लेख प्रस्तुत भएको छ । यसले बौद्ध र जैन सम्प्रदायमा भर्खर प्रवेश गर्न चाहनेहरूका लागि पनि कतिपय विषयमा प्रामाणिक जानकारी प्रस्तुत गर्न सक्ने छ भन्ने अपेक्षा गरिएको छ ।
बौद्धदर्शन समाजका गतिको त्यस चरणमा आएर सिर्जित भएको थियो जहाँ प्राचीन कालको वैदिक धर्म दर्शनको बाहुल्य थियो । त्यस कालावधिमा वैदिक कर्मकाण्डका विधि विधानहरू एकदमै खर्चिला र पशुबलि दिने प्रथामा आधारित थिए । वैदिक कर्मकाण्डले प्रस्तुत गरेका ठूला ठूला यज्ञहरूमध्ये अश्वमेघयज्ञ, राजसूययज्ञ, वाजपेययज्ञहरूको आयोजना गरेर सामन्त र महासामन्तहरूले ठूला ठूला राज्य विस्तार गर्ने विधिसम्मत प्रथाहरू कायम गरेका थिए । यिनैका आधारमा एउटा राज्यले शक्ति विस्तार गर्नमा र त्यस्तै एउटा निरंकुशले अनेकौं गणहरूलाई मासेर गणराज्यको विस्तार गर्नका लागि कहिले अश्वमेघयज्ञ, कहिले राजसूययज्ञ र कहिले वाजपेययज्ञहरूको आयोजना गर्दथे । यी यज्ञहरूको आयोजना गर्दा यजमान राजाहरूले पुरोहितहरूलाई प्रसस्त मात्रामा दान दक्षिणाहरूमा भूमिहरू, दासदासीहरू, गोधन अर्थात् पशुधनहरू प्रदान गर्दथे । यसका लागि स्वयं पुरोहित वर्गले यस्ता प्रकारका विधिविधान र आचार शास्त्रको व्यवस्था गरे । जसमा प्रभुत्व विस्तारको समर्थन गर्ने खालका शास्त्रहरू रचिए । यी शास्त्रहरूका विरुद्धमा र त्यसको पृष्ठभूमिमा बौद्ध धर्म दर्शनको जन्म भएको भन्ने विषयवस्तुका बारेमा धर्मशास्त्रको इतिहासमा भनिएको छ – “बौद्ध धर्म (दर्शन)को जन्म ई.पू. छैटौंँदेखि पाँचौं शताब्दीमा उत्तरी राज्यहरूमा, विशेषतः मगधमा चलिरहेको भीषण वर्ग संघर्षको पृष्ठभूमिमा भएको थियो । यी राजाहरूमा वर्गीय अन्तर्विरोध आफ्नो चरम अवस्थामा थिए । एकापट्टि अत्यधिक सुखी सुसम्पन्न ब्राह्मणहरू, क्षत्रीय राजाहरू (दास मालिकहरू) को ऐश्वर्यपूर्ण एवं अरूको श्रममा आधारित परजीवी जीवन थियो भने अर्कोतर्फ सामुदायिक भूमिसँग गाँसिएका किसानहरू, नीच भनिएका जात जातिका मानिसहरू, दारीद्र्यपूर्ण जीवन, कंगालहरूको समूह थियो । यसै बीचमा सत्ताका लागि सधैँभरि लुछाचुँडी गरिरहने उच्च वर्गका ब्राह्मण र क्षत्रीयहरूका बीचमा पनि भीषण संघर्ष थियो । यसमा क्षत्रीय वर्गको सत्ताले ब्राह्मण वर्गको वर्चश्व एवं सत्तालाई क्रमशः विस्थापित पनि गर्दै थियो । क्षत्रीय वंशको वर्चश्वले पुरानो समयमा कायम भएको ब्राह्मण भनेको सर्वोच्च जाति भन्ने मान्यता पनि क्रमशः खण्डित हुँदै गएको अवस्था थियो । जसले गर्दा वैदिक धर्म दर्शनले खडा गरेको विश्व दृष्टिकोणमाथि ठूलो संकट आइपरेको थियो भने जैनदर्शनको आधार भूमी पनि यस्तै थियो ।यस प्रकारको समाज व्यवस्थामा वेदलाई मुख्य आधार बनाइन्थ्यो । वेदमा भनिएका जे जस्ता कुराहरू छन् ती सबैलाई अकाट्य रूपमा स्वीकार गरिन्थ्यो । वेद शास्त्रमाथि तर्क गर्नेहरूलाई कठोर दण्ड व्यवस्थाद्वारा नियन्त्रण गर्ने, यदि यस्ता प्रकारको नियन्त्रणबाट बाहिर गएमा तिनीहरूलाई सामाजिक बहिष्कार–तिरस्कार गरिन्थ्यो । वेद विद्याको पक्षपोषण नगरेर अन्य विषयहरू स्वतन्त्र ढंगबाट चिन्तन एवं विचारहरूको पक्षपोषण गर्नेहरूप्रति वैदिक धर्म दर्शनका पक्षहरूले ठूलो मात्रामा नियन्त्रण गर्ने कामका विरूद्ध जैन धर्म दर्शनले अमोध तर्क प्रणाली एवं दार्शनिक सिद्धान्तहरूका साथ देखाप¥यो । दास व्यवस्थाका पक्षपोषकहरू र विचारहरूले यस संसारको उत्पत्ति, स्थिति र विनाशका सम्बन्धमा जे जस्ता सिद्धान्त र विचारहरू खडा गरेका थिए ती सबै विचारका विकल्पमा नयाँ नयाँ खालका विचारहरू लिएर जैन र बौद्ध धर्म दर्शनको उत्पत्ति भएको हो ।
संसारभरिका बौद्ध र जैनदर्शनका अध्यता एवं आचार्यहरू विश्वभर सद्भाव एवं मैत्रीको प्रचार प्रसार र शान्ति प्रवाह गरी मानव कल्याणका लागि यी दुवैदर्शनका सिद्धान्तकारहरूले ठुलो योगदान पु¥याउँदै आएका छन् । अहिले मानिसले धेरै भौतिक उन्नति र प्रगति गरे तापनि उसको अन्तर्मनमा मानसिक द्वन्द्व र अशान्ति बढिरहेको अवस्थालाई समेत लक्षीत गरेको देखिन्छ । यसरी योगदान पु¥याएका केही महत्वपूर्ण सिद्धान्तकारहरूको परिचय निम्नानुसार छ ः

आचार्य महाकश्यप
महाकश्यपको जन्म मगधको महातीर्थ नामक ब्राह्मण ग्राममा ब्राह्मण परिवारमा ५५० बि.सी.मा भएको थियो । उनलको बाबुको नाम कपिल र आमाको नाम सुमन देवी थियो । उनी धेरै धन सम्पत्ति र सुख सुविधाको बीचमा हुर्केका थिए । आमाबाबुको देहवसान पश्चात् केही समय पत्नीसँगै आफ्नो पैतृक सम्पत्ति सम्हाले । पछि उनले सन्यासी बन्ने निर्णय गरी दुवै पति पत्नी बुद्धका अनुयायी बने । उनी बुद्धका प्रमुख शिष्य मध्ये एक मात्र यस्ता शिष्य थिए जसका साथमा बुद्धले एक पटक वस्त्र समेत साटेर लगाएका थिए । बुद्धले धेरै पटक महाकश्यपको प्रशंसा गरेको देखिन्छ । यसरी महास्थवीर महाकश्यपको यस महान् योगदानको चर्चा बौद्ध ग्रन्थ महावग्गमा पनि उल्लेख भएको छ ।

आचार्य नागसेन
आचार्य नागसेनको जन्म ई.पू. १५० मा हिमालय पर्वतका नजिकैको एउटा गाउँका सोनुत्तर ब्राह्मणका घरमा भएको थियो । घरमै पिताबाट व्याकरण, वेद आदिको सामान्य अध्ययनपश्चात् वर्तनीय नामक स्थानमा रहेको एउटा बौद्ध विहारमा भिक्षु रोहणबाट यिनले बुद्ध धर्म दर्शनको शिक्षा प्राप्त गरे । उनले शिष्यत्व स्वीकार गरेपछि विजृम्भवस्तु (हाल पाकिस्तानको स्यालकोट)मा बसेर बौद्ध रीति अनुसार बौद्ध वाङ्मयको अध्ययन पश्चात् अरू ज्ञान आर्जन गर्न बौद्ध आचार्य अश्वगुप्तकहाँ पुगे । यिनी पनि प्रसिद्ध बौद्ध विद्वान् थिए । एक दिन बौद्ध सभालाई सम्बोधन गर्ने जिम्मा नागसेनलाई दिए । त्यस समयमा उनले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गरे, जसका कारण नागसेन सुप्रसिद्ध रूपमा बौद्धदर्शनका तार्किक एवम् विद्वत्तापूर्ण व्याख्यानकर्ता बने । उनका प्रतिभाको विषयमा सुनेका यूनानी राजा मिनिन्दरले उनीसँग भेट गरेपछि पहिलो दिन मिनिन्दरले उनीसँग प्रश्न राखे । पछिल्लो दिन उनले प्रश्नको जवाफ दिए । यो प्रश्नोत्तर नै मिलिन्द प्रश्नका नामबाट विख्यात् ग्रन्थको निर्माण भयो ।

आचार्य नागार्जुन
आचार्य नागार्जुनको जन्म मध्य भारतको विदर्भ नगरीमा सन् १७५ ई.मा भएको थियो । यो समय सातवहानको शासन काल थियो ।यिनी विद्यार्थी कालदेखि नै बहुप्रतिभाशाली थिए । उनले सम्पूर्ण वैदिक ग्रन्थहरूको अध्ययनपश्चात् बौद्ध धर्मको अवलम्वन गरे । नागार्जुन बौद्ध विद्वान् मात्र नभएर आयुर्वेदका पनि ज्ञाता थिए । यिनले आयुर्वेदको “अष्टाङ्गहृदय” नामक पुस्तक पनि लेखेका छन् । यिनका बौद्धदर्शनसम्बन्धी कृतिहरूका विषयमा विभिन्न लेखक एवम् विद्वान्हरूले आ–आफ्ना धारणा प्रस्तुत गरेको देखिन्छ । उनले रचना गरेका कृतिहरूमा शून्यवादका अतिरिक्त तन्त्र एवम् वैद्यक शास्त्रसँग समेत सम्बन्धित कृतिहरू छन् जसलाई धेरै दार्शनिक तथा इतिहासकारहरूले उल्लेख गरेका छन् । मूख्यतः उनका ग्रन्थहरूमा (१) माध्यमिक कारिका (२) युक्तिषष्ठिका (३) प्रमाण–विध्वंसनम् (४) उपायकौशल्यम् (५) विग्रहव्यावर्तनी, (६) प्रतीत्यसमुत्पादचक्रम् (७) सूत्र–समुच्चयः (८) तन्त्र–समुच्चय (९) शून्यता सप्तति (१०) महायानविंशक (११) तन्त्रकारिका (१२) रत्नावली (१३) वैपुल्यसूत्रम् आदि रहेका छन् ।

आचार्य आर्यदेव
आचार्य आर्यदेवको जन्म सिंहल द्विप (श्रीलंका)मा ईशाको दोस्रो शताब्दी (ई. २२४)मा भएको थियो । यिनी पनि बौद्धदर्शनको माध्यमिक शाखा शून्यवादका विख्यात आचार्य एवम् नागार्जुनका शिष्य थिए । यिनको प्रमुख दार्शनिक रचना “चतुशतकः” हो भने यसमा गुरुकै मतलाई अनुसरण गर्दै शून्यवादी सिद्धान्तलाई अझै उचाइबाट प्रस्तुत गरेका छन् । यिनको रचनालाई चिनियाँ यात्री ह्वेन साङ् (ई. ६५०) ले पनि चिनियाँ भाषामा अनुवाद गरेको देखिन्छ । चिनियाँ भाषामा यसको नाम “शतशास्त्रवैपुल्य”को अनुवाद गर्दा केवल आर्यदेवको मूल कारिका मात्र नभएर चन्द्रकीर्तिले निर्माण गरेको यसै ग्रन्थको टीकाको पनि सँगै चिनियाँ भाषामा अनुवाद भएको छ । यो ग्रन्थ ४ सय पद्यमा छ जसको आधा भागमा बौद्धदर्शनको शून्यवादी सिद्धान्तको प्रतिपादन भएको छ भने बाँकी २ सय पद्यमा अन्य विपक्षी दार्शनिकहरूका मतको खण्डन गरिएको छ । केवल यसको उत्तरार्ध भागलाई भारतीय विद्वान् विधुशेखर शास्त्रीले अङ्गे्रजीमा पनि अनुवाद गरेका छन् । यस प्रकारको विश्वव्यापी महŒवको ग्रन्थ लेखनकर्ता आचार्य आर्यदेव पनि बुद्धले जस्तै राजसी सम्मान र अतुलनीय सम्पत्ति परित्याग गरेर बौद्ध भिक्षु बनेका थिए । सोहीअनुसार यिनले आफ्नो जीवनमा बौद्धदर्शनमाथि अतुलनीय योगदान गरिएको “चतुशतक” नाम ग्रन्थको विश्वव्यापी महŒव रहेकोछ । बौद्धदर्शनका अन्य विद्वानहरुमा आचार्य कुमारलात (दोस्रो शताब्दी), आचार्य मैत्रियनाथ (ई. ३००), आचार्य असङ्ग (ई. ३५०), आचार्य वसुवन्धु (ई. ३६०), आचार्य संघभद्र (ई.४००), आचार्य दिङ्नाथ (ई.४२५), आचार्य धर्मकीर्ति (ई. ६००) को नाम समेत अग्रणी रुपमा पर्दछन् ।
त्यस्तै जैनदर्शनका प्रमुख आचार्यहरुमा

आदितीर्थङ्कर ऋषभदेव
ऋषभदेवलाई वृषभनाथ पनि भनिन्छ । उनैबाट जैनधर्म वा श्रमण परम्पराको थालनी भएको मानिन्छ । उनी जैनका प्रथम तीर्थङ्कर हुन् । यिनलाई आदिनाथ पनि भनिएको पाईन्छ । जैन ग्रन्थ पुराण रत्नसारका अनुसार ऋषभदेवको शरीर ५०० धनुष बराबर थियो भने उनी ८४ लाख वर्ष बाँचेका थिए भनिएको छ, तर पनि उनको अस्तित्व सम्बन्धमा कुनै ऐतिहासिक प्रमाण नभएर पौराणिक श्रुति मात्र उपलब्ध छ । उनले गरेको आचार व्यवहारका कतिपय विषयहरू नै जैन धर्म दर्शनका मूल सिद्धान्तका रूपमा स्थापित भएका हुन् ।

तीर्थङ्कर पाश्र्वनाथ
पाश्र्वनाथ अत्यन्त प्रतिभाशाली व्यक्ति थिए । यिनको जन्म ई.पू. ८०० मा वाराणसीको एउटा राजपरिवारमा भएको थियो । यिनका मातापिताको नाम क्रमशः वामा र अश्वपति थियो । उनी ३० वर्षको अवस्थामा सम्पूर्ण राजपाट त्यागेर वनवासी भए । आफ्नो अथक परिश्रमद्वारा घर छाडेका उनलाई ८३ दिनमा ज्ञानको उपलब्धि भयो । उनले लगातार ७० वर्षसम्म धर्म प्रचार गरे । यिनै तीर्थङ्करद्वारा श्रमण सम्प्रदायको पूर्ण स्थापना भयो । इन्द्रिय निग्रहको अद्भूत क्षमता भएका कारण यिनलाई जिन भनियो र यिनैले प्रचार गरेको धर्मलाई जैन धर्मका रूपमा प्रतिष्थापित गरियो ।

वर्धमान महावीर
वर्धमान महावीर जैन धर्म दर्शनका मुख्य प्रतिपादक ऐतिहासिक व्यक्तित्व मानिन्छन् । यिनी २४ औं तीर्थङ्करहरूमध्ये अन्तिम तीर्थङ्कर हुन् । यिनको जन्म विहार प्रान्तको वैशाली (हालको मुजफ्फरपुर) जिल्लाको बसाढ गाउँमा ई.पू. ५९९ मा भएको थियो । यिनको पैत्रिक नाम वर्धमान थियो । वर्धमानको विवाह कलिङ्ग नरेश जितशत्रुकी छोरी यशोदासँग भएको थियो । उनी ई.पू. ५७० मा ३० वर्षको उमेरमा सम्पूर्ण घरवार त्यागेर प्रव्रजित भए । लामो समयसम्म यता उति भौतारिएर विभिन्न पथको खोजी गर्दा गर्दै ई.पू. ५४७ मा पाश्र्वनाथद्वारा उपदिष्ट धर्मको ऋजुकुल्या नदीको किनारमा रहेको जृम्भक गाउँमा बस्दाबस्दै ज्ञान प्राप्त गरे । यिनले आफ्नो सम्पूर्ण जीवन सर्वसाधारण जस्तै बनेर व्यतीत गरे । जैन धर्म दर्शनको सारा सŒव ज्ञानलाई व्यवस्थित पारेका हुनाले यिनका अनुयायीहरूले अर्हत्, जिन, निर्ग्रन्थ महावीर जस्ता पदवीहरूद्वारा विभूषित गरेको पाईन्छ । बौद्ध ग्रन्थहरूमा यिनको नाम निगण्ठ नातपुत्त भनिन्छ । जति पनि प्रसङ्गमा निगण्ठहरूको चर्चा रहेको छ, ती सबै महावीर जैनसँग सम्बन्धित हुन् ।

आचार्य उमास्वाति
आचार्य उमास्वाति मगध देशको कुसुमपुरमा सन् ५० मा जन्मिएका थिए । त्यसबेलासम्म यस क्षेत्रमा जैनधर्म दर्शनको व्यापक रूपमा प्रचार प्रसार भइरहेको थियो । यस समयसम्म जैन साहित्य अधिकांश पालि प्राकृत भाषामा लेखिएका थिए भने त्यस समयको सर्वमान्य संस्कृत भाषामा जैन दर्शनलाई प्रस्तुत गर्ने व्यक्ति पनि उनै थिए । यिनको मुख्य रचना तŒवार्थाधिगम सूत्रको भूमिका (पुष्पिका) मा उल्लेख भएअनुसार उमास्वाती मुण्डपादका प्रशिष्य वाचकाचार्यका शिष्य थिए । यिनका बाबुको नाम स्वाति थियो भने आमाको नाम वात्सी थियो । न्याग्रोधिकाको कुसुमपुर भन्ने ठाउँमा यिनको जन्म भएको थियो । यिनको सूत्र ग्रन्थको महŒव वादरायण (ई.को प्रथम शताब्दी) ले लेखेको ब्रह्मसूत्र, अक्षपाद गौतम (ई.को प्रथम शताब्दी), न्यायसूत्र र कणादको वैशेषिक सूत्रकै महŒव बोकेको जैन दर्शनको तŒवार्थाधिगम सूत्रलाई लिने गरिन्छ ।
जैनदर्शनका अन्य प्रख्यात विद्वान्हरुमा कुन्दकुन्दाचार्य (विक्रमको प्रथम शदाब्दी), समन्त भद्र (विक्रमको चौथो सताब्दी), सिद्धसेन दिवाकर (ई. पाँचौ शदाब्दी), मणिभद्र सूरि (ई. आठौं शताब्दी), हरिभद्र सूरि (ई. आठौं शताब्दी), भट्टअकलंक (ई. आठौं शताब्दी), विद्यानन्द (ई. नवौं शताब्दी), वादिराज सूरि (ई. एघारौं शताब्दी) आदि प्रमुख मानिन्छन् ।
बौद्ध र जैनदर्शनका प्रमुख ग्रन्थहरुको विषयमा चर्चा गर्नु पर्दा धम्मपद नामक ग्रन्थ त्रिपिटकको खुद्दक निकाय अन्तर्गतकोे ग्रन्थ हो । यसमा बुद्धका दार्शनिक उपदेशहरू, ज्ञान प्राप्ति र त्यसका कारणहरूको वर्णनदेखि लिएर बौद्ध आचार सबैको यथार्थ रूपमा वर्णन गरेको देखिन्छ । यस ग्रन्थको विश्वव्यापी महŒव रहेको छ ।
बुद्धचर्याअर्को महत्वपूर्ण ग्रन्थ रहेको छ । बुद्धको समग्र जीवनसँग सम्बन्धित विषयवस्तुहरूलाई त्रिपिटक ग्रन्थहरूका विभिन्न प्रसङ्गहरू मिलाएर सम्पादन गरिएको यो ग्रन्थ एक प्रकारले त्रिपिटकहरूको संक्षिप्त स्वरूप हो । राहुल सांकृत्यायनद्वारा सम्पादित एवम् अनुदित यस ग्रन्थमा जम्मा ५ खण्ड रहेकाछन् । पहिलो खण्डमा त्रिपिटकहरूमा उल्लेख भएका बुद्धको जीवनको वर्ष १ देखि ४२ वर्षसम्मको उमेरका घटनाहरूको उल्लेख रहेको छ ।
ललितविस्तर गौतम बुद्धको जीवनीमा आधारित भएका १२ वटा मुख्य मुख्य घटनाहरूका विषयमा वर्णन गरिएको अर्को महत्वपूर्ण ग्रन्थ हो र यसमा बुद्धका अनुयायीहरूले तथागतका जीवनका बारेमा प्रचार प्रसार गरेका विषयलाई लिएर “हाइब्रिड संस्कृत” भाषामा लेखिएको गद्य पद्य मिश्रित रूपलाई ललित विस्तरमा प्रस्तुत गरिएको छ ।
बोधिचर्यावतारआचार्य शान्तिदेवको रचना हो । यो बौद्ध दर्शनका तीनवटै पक्षलाई मार्ग दर्शन गर्ने उद्देश्यले संस्कृत भाषामा लेखिएको अनुपम ग्रन्थ हो । यो ग्रन्थ दश परिच्छेदमा विभाजन गरी प्रकाशित भएको छ । नेपालमा पनि बोधिचर्यावतारको निकै प्रचार प्रसार, अनुशरण र महŒव रही आएको छ । चौथो शताब्दीतिर लेखिएको बौद्ध ग्रन्थ गुणकारण्यव्यूहमा यो ग्रन्थमा भएका धेरै श्लोकहरूलाई समावेश गरिएको छ ।बौद्धदर्शनका अन्य महत्वपूर्ण ग्रन्थहरुमा त्रिपिटक (सुत्त पिटक, विनय पिटक, अभिधम्म पिटक), अभिधर्मकोश, प्रज्ञापारमिता सूत्र, लंकावतार सूत्र, विशुद्धिमार्ग, सर्वदर्शन संग्रह आदि रहेकाछन् । त्यस्तै जैनदर्शनका मूख्य ग्रन्थहरूमा तत्वर्थाधिगमसूत्र वेदान्त दर्शनको आधार ग्रन्थ “ब्रम्हसूत्र” पूर्वीय दार्शनिक ग्रन्थहरूमा मूर्धन्य ग्रन्थ मानिएको छ । त्यसमा विभिन्न प्रकारका सम्प्रदायहरूले अलग अलग मतमा आधारित भएर टीकाहरू लेख्ने काम गरेका छन् । ठीक त्यस्तै गरी ईशाको प्रथम शताब्दीमा उमास्वातिद्वारा लेखिएको तŒवार्थाधिगम सूत्र जैन धर्म दर्शनको महान्तम ग्रन्थमा पनि अनेकौं टीकाहरू लेखिएका छन् । पहिले त उमास्वातिले वादरायणकै शैलीमा सूत्रहरूमा मात्र यसको लेखन गरे । तर यी सूत्रहरू सर्वसाधारणका लागि दूर्बोध्य भएका हुनाले स्वयंले यसमा “तŒवार्थ सूत्र” नामक टीका लेखे । जैन साहित्यका क्षेत्रमा यो ग्रन्थ यति लोकप्रिय रह्यो, जसमा श्वेताम्वर र दिगम्वर सम्प्रदाय दुवैले बराबर किसिमले आदर गर्दै आएका छन् ।
स्याद्वादमञ्जरी मल्लिषेण सूरि (बाह्रौं शताब्दी) द्वारा विरचित जैन दर्शनको मूल सिद्धान्त स्याद्वादको प्रमाणपुरस्सर विवेचनात्मक ग्रन्थ हो । लगभग यसै समयमा स्याद्वाद रत्नाकर नामक ग्रन्थ पनि देवसूरिद्वारा लेखिएको थियो । यी दुवै ग्रन्थले जैन दर्शनको (१) स्यात् अस्ति (२) स्यात् नास्ति (३) स्यात अस्ति च नास्ति च (४) स्याद् अवक्तव्यम् (५) स्यात् अस्ति च अवक्तव्यम् (६) स्याद् नास्ति च अवक्तव्यम् (७) स्यात् अस्ति च नास्ति च अवक्तव्यम् च । यसरी जैन दर्शनका ७ वटा स्याद्वादका शृङ्खलाहरूलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ ।
पाश्र्वनाथचरित जैन धर्म दर्शनका २३ औं तीर्थङ्कर पाश्र्वनाथले चरित्रमा आधारित पाश्र्वनाथ चरितको पनि सोही किसिमको महŒव रहेको देखिन्छ । यस काव्यका रचयिता वादिराज सूरि हुन् भने यसको रचनाकाल शक वत् ९४७ तदनुसार सन् ११७२ हो । जुन कुरा उक्त ग्रन्थमा नै उल्लेख भएको छ । यस काव्यले दर्शनको जटिलतालाई बुझ्न नसक्ने साधारण जैनधर्मका भक्तहरूलाई त्यस धर्मप्रति आकर्षित गर्ने यस पाश्र्वनाथचरितको महŒव निकै नै मात्रामा रहेको देखिन्छ । जैनदर्शनका अन्य महत्वपूर्ण ग्रन्थहरुमा सर्वदर्शन संग्रह (अर्हत दर्शनम्), तत्वार्थ सूत्र, जैन ग्रन्थ, द्रव्यसंग्रह, पुरुषार्थ सिद्धयुपाय आदि रहेका छन् ।
बौद्धदर्शन र जैनदर्शनको तŒव विवेचना
सबै दर्शनशास्त्रहरूकोसाझा चरित्र रहेको हुन्छ । त्यो भनेको (१) तŒव विवेचना या मीमांसाको पक्ष (२) प्रमाण र ज्ञान विवेचना या प्रमाण ज्ञान मीमांसाको पक्ष र (३) आचार विवेचना या आचार मीमांसाको पक्ष हो । बौद्धदर्शनले तŒव भनेर कुन कुन कुरालाई महŒव दिन्छ भन्ने विषयमा विवेचना गर्नु पर्दा पहिलो– चार आर्यसत्य दोश्रो– पञ्चस्कन्ध तेश्रो– द्वादश आयतन चौथो– क्षणिकवाद पाँचौमा शून्यवादगरी यी ५ वटा सिद्धान्तहरूनै सम्पूर्ण बौद्धदर्शनको तŒव विवेचनाका मुख्य विषय हुन् । दार्शनिक अध्ययनको मूल प्रश्न भनेको यो संसार, जीवन र सम्पूर्ण जगत् कसरी निर्माण भयो र कसले निर्माण ग¥यो होला ? भन्ने विषयमा नै केन्द्रित भएर सम्बन्धित दर्शनले आफ्नो तŒवविवेचना सम्बन्धी सिद्धान्त प्रतिपादन गरेको हुन्छ । यस प्रसङ्गमा बौद्धदर्शनले प्रतिपादन गरेका तŒवमीमांसाकाक्षणिकवाद, स्कन्ध, आयतन, धातु, प्रतीत्यसमुत्पाद, अनात्मवाद, अभौतिकवाद, अनीश्वरवाद, अन्याकृत सिद्धान्त, विचार स्वातंत्र्य, निर्वाण सिद्धान्त, सर्वज्ञताको निषेध र पुद्गल।वाद यी १३ वटा सिद्धान्तहरू हुन् । यी सिद्धान्तहरूको प्रस्तुति नै बौद्धदर्शनका मूल विषयवस्तु र केन्द्रीय विषय हुन् । यिनै तŒवहरूको व्याख्या विवेचना र व्याख्या विस्तारमा नै बौद्धदर्शनको वाङ्मयको विस्तार भएको छ भने जैनदर्शनले पनि आफ्नो संसार एवं जीवन र जगत्का विषयमा गरिएका तŒव विवेचना सम्बन्धी प्रस्थापनाहरूलाई द्वितŒव चर्चाअन्तर्गत – जीवतŒव, अजीवतŒवको विवेचना गरिएको छ । त्यस्तै गरी पञ्चतŒव चर्चाअन्तर्गत, जीवतŒव, आकाशतŒव, धर्मतŒव, अधर्मतŒव र पुद्गल आस्तिकाय तŒवका रूपमा प्रस्तुत गरिएको छ । यस्तै गरी सप्त तŒव चर्चाअन्तर्गत –जीवतŒव, अजीवतŒव, आस्रवतŒव, बन्धतŒव, संवरतŒव, निर्जरतŒव र मोक्षतŒव गरी सातवटा तŒवहरूको चर्चा गरिएको छ । यस्तै गरी नवतŒव चर्चाअन्तर्गत – जीवतŒव, अजीवतŒव, पुण्यतŒव, पापतŒव, आस्रवतŒव, संवर तŒव बन्ध तŒव, निर्जर तŒव र मोक्ष तŒव गरी ९ वटा तŒवहरूको आधारमा प्रस्तुत गरिएको छ । बौद्ध र जैनदर्शनका सम्पूर्ण वाङ्मयको सार बौद्धदर्शनका १३ तŒव र जैनदर्शनका ४ तŒवहरूमा नै केन्द्रित भएर यी दुवै दर्शनको तŒव विवेचनासम्बन्धी विषयवस्तुको विस्तार भएको देखिन्छ ।

बौद्धदर्शन र जैनदर्शनको ज्ञान तथा प्रमाण विवेचना
कुनै पनि दर्शनको दोस्रो प्रश्न भनेको ज्ञान तथा प्रमाण विवेचनाको प्रश्न हो । बौद्धदर्शनको ज्ञान सिद्धान्त अन्तर्गतदुःख आर्यसत्य, दुःख समुदय आर्यसत्य, दुःख निरोध आर्यसत्य, दुःख निरोधगामिनी प्रतिपद् मार्गसत्यका विषयमा जानकारी राख्नु नै बौद्धदर्शनको मुख्य ज्ञान सिद्धान्त हो । यसका साथै ज्ञान –अवलम्बन , ज्ञानको समन्तर , ज्ञानको सहकारी , ज्ञानको अधिपति आदिको विवेचना गर्नुका साथै यसरी प्रस्तुत छन् तŒव र ज्ञानलाई प्रमाणित गर्ने मुख्य आधारहरू भनेका के हुन् भन्ने विषयका प्रत्यक्ष प्रमाणमा निर्विकल्प प्रत्यक्ष ज्ञान , सविकल्प प्रत्यक्ष ज्ञान पर्दछन् । त्यस्तै गरी अनुमान प्रमाणअन्तर्गत स्वार्थानुमान र परार्थनुमान पर्दछन् ।
जैनदर्शनको ज्ञान सिद्धान्तमा मुख्य रूपमा दुईवटा विषयलाई– साधारण लौकिक ज्ञान र असाधारण अलौकिक ज्ञान पर्दछन् भने प्रमाण सिद्धान्तका रूपमा प्रत्यक्ष प्रमाण र परोक्ष प्रमाण पर्दछन् । बौद्धदर्शनले जुन विषयलाई अनुमान प्रमाण भनेको छ जैनदर्शनले त्यसैलाई परोक्ष प्रमाण भनेको छ र परोक्ष प्रमाणहरू भनेका स्मृतिपरोक्ष ज्ञान, प्रत्यभि ज्ञान परोक्ष ज्ञान, तार्किक परोक्ष ज्ञान, अनुमान परोक्ष ज्ञान, आगम परोक्ष ज्ञान हुन् । यी ज्ञान सिद्धान्तबाहेक पनि जैनदर्शनका विशिष्ट एवम् मौलिक सिद्धान्तहरूमा– अनेकान्तवाद, स्वाद्ववाद र नयवाद सो अन्तर्गत नैगमनय, सङ्ग्रहनय, व्यवहारनय, ऋजुसूत्रियनय, शब्दनय, समभिरुढनय, एवम् भूतनय पर्दछन् भने अमारविक्षेपवाद गरी आठ किसिमका मौलिक प्रमाण सिद्धान्तका रूपमा पर्दछन् ।
बौद्धदर्शन र जैनदर्शनका आचार विवेचना
मुख्य रूपमा बौद्धदर्शन र जैनदर्शन विषयको विस्तारका हिसाबले आचारणमा आधारित दर्शनभन्दा पनि हुन्छ किनभने यस हिमाली उपमहाद्विपका दर्शनहरूमध्ये यी दुईवटा दार्शनिक सिद्धान्तहरू मात्र यस्ता विशिष्ट दार्शनिक हुन् जसले सिद्धान्त र व्यवहारलाई एकरूपता प्रदान गरेका छन् । उपर्युक्त प्रकारका तŒवसम्बन्धी सिद्धान्त र ज्ञान तथा प्रमाणसम्बन्धी सिद्धान्तहरूलाई स्वीकार गर्नेहरू आचार एवम् व्यवहार पनि सोही किसिमको हुनु आवश्यक हुन्छ भन्ने कुरामा विशेष जोड दिएको देखिन्छ । यी दुवै दर्शनलाई आचार प्रधान दार्शनिक धाराहरू भन्दा पनि फरक पर्ने देखिँदैन । त्यसमा पनि बौद्धदर्शनको वाङ्मयको विस्तार यसै आचार विवेचनाका सिद्धान्तमा विस्तार भएको देखिन्छ । बौद्धदर्शनको आचार विवेचनाको पहिलो सिद्धान्तअन्तर्गत – त्रिरत्न पर्दछन् । यी त्रिरत्नको पहिलो रत्न शीलरत्न हो जसमा – अहिंसा, अस्तेय, ब्रह्मचर्य, सत्यसम्भाषण, मादकपदार्थ सेवनबाट विरति पर्दछन् । यसको दोस्रो रत्न समाधि र तेस्रो रत्न प्रज्ञा हो । यसपछि अष्टाङ्ग मार्ग, मध्यम प्रतिपदा, त्रिविधयानअन्तर्गत –श्रावध्यान, प्रत्येक बुद्धयान, बोधिसत्वयानको परिचय प्रस्तुत गर्नुका साथै ५. षड्पारमिताअन्तर्गत– दान पारमिता, शील पारमिता, क्षान्ति पारमिता, वीर्य पारमिता, ध्यान पारमिता र प्रज्ञा पारमिताका विषयमा विचारहरू प्रस्तुत गर्ने काम भएको छ । त्रिविधकाय अन्तर्गत –निर्वाण काय, सम्भोग काय र र धर्म कायको वर्णन भएको छ । त्यसपछि बौद्धआचार विधिको महŒवपूर्ण पक्ष दशभूमिको महŒवको विषयमा बौद्धाचार्यहरूका अनुसार– दशभूमिअन्तर्गत –मुदिता, विमला, प्रभाकरी आर्चिष्मती, सुदुर्जया, अभिमुक्ति, दुरङ्गमा , अचला, साधमति र धर्ममेधका विषयमा यथोचित रूपमा सबैको परिचय प्रस्तुत गरिएको छ । बौद्धध्यानयोग समथका लागि समथ अन्तर्गत–पृथ्वी कसीण (कृत्स्न), आपो कसीण, तेजो कसीण, वायु कसीण, नील कसीण, पीत कसीण, लोहित कस, अवदात कसीण, आलोक कसीण (ओ) परिच्छन्नाकाश कसीण, उध्र्वमातकको ध्यान, विनिलकको, पिवुब्वकको ध्यान –विच्छिद्रकको ध्यान, विक्खायितकको ध्यान, विखिक्त्तिकको ध्यान, हत विक्खितक ध्यान, लोहितक ध्यान, पुलुक्क ध्यान, अट्, बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति , शीलानुस्मृति, त्यागानुस्मृति, देवतानुस्मृति, मरणानुस्मृति, कायगतानुस्मृति, आनापानानुस्मृति, उपशमानुस्मृति, मैत्रीभाव ब्रह्म विहार, करूणा भाव ब्रह्मविहार, मुदिता भाव ब्रह्मविहार, उपेक्षा भाव ब्रह्मविहार, आकाशानन्त्यायतन, विज्ञानानत्यायतन, अकिञ्चनन्त्यायतन, नैव संज्ञानासंज्ञायतन, आहार प्रतिकूल संज्ञा, चतुर्धातु व्यवस्थापन पर्दछन् । यसपछि बौद्ध ध्यान योगको विषयमा प्रवेश गर्दा अपनाउनुपर्ने सावधानीहरूमध्ये – नराम्रो कुराबाट टाढा रहनुपर्ने,सकारात्मक कुरा सोच्ने, स्वआत्मालाई शुद्धराख्ने हुनुपर्छ भनिएको छ भने जैनदर्शनको आचार विवेचनाअन्तर्गत – रत्नत्रयको धारण र प्रतिपादन यसअन्तर्गत, सम्यक् दर्शन, सम्यक् ज्ञान र सम्यक् चरित्रका रूपमा जीवनमा पालना गर्नुपर्ने बताएको छ । अर्को सबैभन्दा महŒवपूर्ण आचारविधिका रूपमा अहिंसालाई नै सबभन्दा बढी महŒव दिएर आचारविधिको प्रतिपादन भएको देखिन्छ । जैन दर्शनकोे आचार सिद्धान्तमा प्रेक्ष्या ध्यानलाई बढी महŒव दिंदै शारीरिक कठोरता लागि अहिंसा व्रतको पालनलाई महŒव दिइएकोे देखिन्छ ।

निष्कर्ष
बौद्धदर्शन र जैनदर्शनको तुलनात्मक अध्ययनको निष्कर्षमा पुग्दा धर्म दर्शन या विचार सिद्धान्तहरू सबै एउटा न एउटा भौतिक परिस्थितिका उत्पादन हुन् । बिनाआधार हलुका रूपमा कुनै पनि विचार सिद्धान्तहरूको जन्म, विकास र विलोप हुँदैन । बौद्धदर्शन र जैनदर्शन पनि यिनै सामाजिक परिस्थितिबाटै उत्पन्न भएका हुन् र फेरि तिनै विचार दर्शनले सोही भौतिक परिस्थितिलाई मार्गदर्शन गर्दछन् । यस्तै प्रकारको वाद, प्रतिवाद र संवादको प्रक्रियाबाट यही मानव ज्ञानको अन्त्यहीन प्रक्रिया सञ्चालित हुन्छ । यहाँ विशेष ध्यान पु¥याउनुपर्ने विषय के पनि छ भने जुन समयमा बौद्ध र जैनदर्शनको मुख्य सारको प्रतिपादन हुँदै थियो त्यो समाजको आर्थिक, राजनीतिक एवम् सामाजिक परिस्थिति कस्तो थियो होला ? कुनै पनि दर्शन वा दार्शनिक विचारले यो संसारको जीवनको स्वरूप कस्तो किसिमको छ ? यस परिप्रेक्ष्यमा मानिस मात्रले यस प्रकारको संयमशीलता र सहनशीलता अपनाउनुपर्छ भनेर उपदेश दिँदैमा सामाजिक समस्याको समाधान पनि हुँदैन ।
अहिंसावादी विचार, चिन्तन एवम् दर्शनको उत्पत्तिमा सामाजिक, आर्थिक एवम् राजनीतिक आधारहरू के के थिए होलान् भनेर त्यस्ता विषयको निष्कर्षमा पुग्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा महाकवि भवभूतिको प्रस्तुत अभिव्यक्ति मननीय देखा पर्दछ — “उत्पत्स्यते हि मम कोऽपि समान धर्माः । कालो ह्ययं निरवधिविपुला च पृथ्वी ।।”–उत्तररामचरितम् ।
दर्शन या दर्शनशास्त्र भनेका मानवीय बौद्धिकताका सर्वोच्च रूपहरू हुन् । सोही अनुसार बौद्धदर्शन र जैनदर्शन पनि आफ्नो समयका सामाजिक जीवनका विशिष्ट विद्वान् ब्यक्तिहरूले निकालेका बौद्धिक निष्कर्षहरू नै हुन् । दर्शन र त्यसको सबैभन्दा महŒवपूर्ण उद्देश्य भनेको नै यो संसार र यहाँ रहेका जीवन र जगत्को मुख्य स्वरूप के हो ? वर्तमानमा यो जीवन र जगत्को अस्तित्व कसरी रहेको छ र यसको अन्त्य कहाँ पुगेर कसरी हुन्छ भन्ने कुराको खोजी गर्ने कार्य हो । संसारभरिका जुनसुकै दर्शनको मुख्य उद्देश्य र सार पनि सम्भवतः यही हो ।
कुनै पनि दर्शनले यिनै विषयलाई प्रमाणित गर्न ज्ञान र प्रमाणमीमांसाको पक्षमा ध्यान दिएको देखिन्छ भने सम्बन्धित दर्शनहरूलाई स्वीकार गरिसकेपछि त्यसको आचरण कस्तो हुनुपर्दछ भनेर सो दर्शनले आचार विधि निर्धारित गरिदिएको हुन्छ । यी तीनवटा महŒवपूर्ण पक्षलाई अवलम्बन नगरिएका कुराहरूलाई विचार त भन्न सकिएला तर दर्शन मान्न सकिँदैन । बौद्धदर्शन र जैनदर्शन अत्यन्त मौलिक चेतना र चिन्तनमूलक दर्शन हुन् भन्ने मान्यतालाई आत्मसात गरेको कुरामा कुनै दुईमत नहोला ।

सन्दर्भसामाग्री
अमृतानन्द, भिक्षु, धम्मपद, (नेपाली अनुवाद), काठमाडौँः आनन्दकुटी महाविहार गुठी, २०५७ ।
अश्वघोष,बुद्धचरित्र, (विश्वनाथ शर्मा भट्टराई),काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,वि.सं. २०२५ ।
अश्वघोष भिक्षु महास्थवीर, विशुद्धिमार्ग, (अनु.भिक्षु सम्यक् सम्बोधी प्राणपुत्र ) वि.सं. २०५६ ।
आनन्द, श्रीकृष्ण (सम्पा.÷अनु ) गौतम बुद्ध जीवनी र उपदेश र सिद्धान्त, काठमाडौँ,ः बिएन् पुस्तक संसार प्रा.लि., वि. सं. २०७२ ।
ऊ.अ‍ेः माउँ, बुद्ध र बुद्धवाद प्रथम भाग १ (अनु. भिक्षु ज्ञानपूर्णिक), काठमाडौंः श्रीमती बेतिमाया शाक्य प्रमुख सपरिवार, वि.सं. २०४८ ।
तोकारोव, से., धर्मशास्त्रको इतिहास, मास्कोः प्रगति प्रकाशन, ई.सं. १९८९ ।
प्राण पुत्र, भिक्षु संवोधी, मज्झिम निकाय – पञ्चत्तप सूत्र, वि.सं.२०६५ ।
महर्जन, बसन्त, गन्तव्य लुम्बिनी, काठमाडौँंः इन्साइट पब्लिकेसन, ई.सं. २०१२ ।
वज्राचार्य, सिद्धिविलास, महायान बुद्ध धर्म, काठमाडौँः सरस्वती वज्राचार्य, ई.सं. २००९ ।
वज्राचार्य दुण्ड बहादुर, दीघ निकाय, (नेपाली अनुवाद) ललितपुरः वीरपूर्ण पुस्तकालय ई.सं. २००० ।
अश्वघोष,बुद्ध चरितम्, दिल्लीः इष्टर्न बुक लिङ्कर्स, ई.सं. २००२ ।
जैन सागरमल, जैन, बौद्ध और गीताके आचार दर्शनोंका तुलनात्मक अध्ययन, राजस्थान प्राकृत भारती संस्थान जयपुर– सन् १९९८
आचार्य तुलसी, जैन विद्याका सांस्कृतिक अवदान, दिल्लीः भारती प्रिंटर्स, सन् १९७६ ।
आचार्य तुलसी, जैनतत्वविद्या, नयाँ दिल्ली ः आदर्श साहित्य संघ, सन् २०१४ ।
आचार्य महाप्रज्ञ, धर्मके सूत्र, नयाँ दिल्ली ः आदर्श साहित्य संघ, सन् २०१४ ।
आचार्य महाश्रवण, क्या कहता है जैन वाङ्मय, लाडनूं ः जैन विश्व भारती प्रकाशन, वि.सं.२०१४ ।
कारुस, पेसल, द गोस्पेल अफ बुद्ध, नयाँ दिल्लीः नेसनल बुक ट्रस्ट अफ इन्डिया, ई.सं. १९७८ ।
शर्मा, टि. आर., एन् इन्ट्रोडक्सन टु बुद्धिस्ट फिलोसोफी, दिल्लीः इस्टर्न बुक लिङ्कर्स, ई.सं. २००७ ।

error: Sorry, the content is protected !!