बाँडेगाउँ(बन्देपुर) स्थित षडक्षरी लोकेश्वर

दयाराम श्रेष्ठ, पिएच डि

लेखसार
षडक्षरी लोकेश्वरको गुण र विशेषताको आधारमा स्थापित भएको षडक्षरी लोकेश्वरको चैत्य रहेको स्थल बाडेगाउँ (बन्देपुर) हो । यस चैत्यलाई मूल चैत्य रूपमा स्थापित गराई बन्देशपुर महाविहार स्थापना गरिएको छ । जुन हाल सम्म अन्य क्षेत्रमा यस्तो चैत्य भएको जानकारी प्राप्त हुन सकेको छैन् । यस षडक्षरी लोकेश्वर र बन्देशपुर महाविहारको बारेमा चर्चा गर्नुको अतिरिक्त यस क्षेत्रका युुवाहरु र बौद्ध धर्म सम्बन्धको माध्यम षडक्षरी लोकेश्वरको वारेमा केही तथ्यहरु यस लेखमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
प्रमुख शब्दावली
षडक्षरी लोकेश्वर, षडक्षरी मन्त्र, लोकेश्वर, लोकेश्वर पूजा, वाडेगाउँ,
परिचय
बुद्धधर्मको विश्वव्यापी लोकप्रिय मन्त्र ‘ॐ मणि पद्मे हु’ को साक्षात् प्रतीकको रूपमा रहेको षडक्षरी लोकेश्वर हो । हृदयरूपी कमलमा रहने मणिको रूपमा रहेको भगवानलाई दण्डवत् गरी दण्डवत्को मुद्रामा रही सधैं मनमा रहिरहन जप गर्न र अर्को हातमा जपमाला लिएका बोधिसत्व लोकेश्वरको रूपमा रहनुभएका षडक्षरी लोकेश्वरको महत्व विभिन्न दृष्टिकोणवाट अत्यधिक रहेको छ । यस लोकेश्वरको मनमा राखेर चित्त शुद्ध गरी बुद्धत्व प्राप्त गर्ने मूल मन्त्र र पूजा आराधना गर्ने मूल आधार रहेका छन् । यही प्रतीक भगवान द्यः को रूपमा बुधवाद्यः भनेर चिनिने षडक्षरी लोकेश्वर बाडेगाउँमा रहेका छन् । यस लोकेश्वरको महत्व कथा, पुराण तथा अन्य विभिन्न ग्रन्थहरूमा जति मात्रामा व्यापकता दर्शाइएको छ त्यति नै मात्रामा हालको सामाजिक र व्यवहारिक क्षेत्रमा भएको देखिंदैन । यसको व्यापक प्रचार र प्रसार गर्न आवश्यक छ । अतः षडक्षरी लोकेश्वरको माध्यमबाट बुद्धधर्मको ब्यापक प्रचारप्रसार गर्ने हेतुले यो लेख तयार पारिएको हो ।

बाडेगाउँ (बन्देपुर) को षडक्षरी लोकेश्वर रहेको स्थल
पूर्व ठैव गाविसको बाडेगाउँमा रहेको षडक्षरी लोकेश्वरको प्राचीन मन्दिर हो ।काठमाण्डौ उपत्यकाका नेवार समुदायका सानासाना घना वस्तीहरूमध्ये बाडेगाउँ पनि एक हो । यस गाउँको मध्यभाग लाछि टोलमा एउटा पोखरी, केही पाटीहरू, ऐतिहासिक ढुगेंधाराहरू रहेका छन् । उक्त स्थानमा बिभिन्न बौद्ध चैत्यहरू मध्ये मुख्य चैत्यको रूपमा रहेको चैत्यमा पश्चिमाभिमुख भएर विराजमान भएको षडक्षरी लोकेश्वर हो ।
शिलाको बज्रासनमा रहेको चर्तुभुजधारी यो षडक्षरी लोकेश्वर दुईहात अञ्जली मुद्रा, अर्को दायाँ हातमा माला र अर्को बायाँ हातमा कमलको फूल रहेको छ । सो शिलाको मूर्ति माथि उस्तै प्रकारको अर्को धातुको दुइ मूर्तिहरू पनि विभिन्न अवसर र चाडपर्वहरूको समयमा राखिने गरिन्छ । यसको ठिक अगाडि शिलाकै कमल र बज्रधातु पनि रहेको छ ।
काठमाण्डौ पूर्व–दक्षिण पुण्य तीर्थ गोदावरीको समीपमा ललितपुर जिल्लाको पूर्व ठैब गाउँ विकास समिति हाल गोदावरी नगरपालिकाको वडा नं. ८ को बाडेगाउँ हो । यस गाउँको मध्यभाग लाछि टोलमा एउटा पोखरी, केही पाटीहरू, ऐतिहासिक ढुगेंधाराहरू र विभिन्न बौद्ध चैत्यहरू रहेका छन् । ती बौद्ध चैत्यहरू मध्ये मुख्य चैत्यको रूपमा रहेको चैत्यमा पश्चिमाभिमुख भएर विराजमान भएको षडक्षरी लोकेश्वर रहेका छन् । शिलाको बज्रासनमा रहेको चर्तुभुजधारी यो षडक्षरी लोकेश्वर दुईहात अञ्जली मुद्रा, अर्को दायाँ हातमा माला र अर्को बायाँ हातमा कमलको फूल रहेको छ । सो शिलाको मूर्ति माथि उस्तै प्रकारको अर्को धातुका दुई मूर्तिहरू पनि विभिन्न अवसर र चाडपर्वहरूको समयमा प्रतिस्थापन गरिन्छ । यसको ठिक अगाडि शिलाकै कमलमाथि बज्रधातु पनि रहेको छ । साथै सो चैत्य भित्र शिलाको बज्रपाणि, मञ्जुश्री, बुद्ध, धर्म र संघ, प्रज्ञापारमिता, बज्रसत्व र पञ्चबुद्धको मूर्तिहरू रहेका छन् । यो बाडेगाउँ मानदेवको पुर्खा वृषभदेवले ‘बन्देगाउँ बनाई बुद्धको स्थापना गरेको, उपत्यकाका चार प्रमुख बुद्ध भगवान्हरू मध्ये स्वयम्भू महाचैत्य, खास्ति र धन्दो चैत्यको बुद्धपछि यस षडक्षरी लोकेश्वर स्थापना गरेको ‘गोदावरी कुण्डमा तीर्थ भएको, गोदावरीको मेला भर्नआएका एक प्रख्यात बौद्ध विद्वान भिक्षुले यस क्षेत्रमा बुद्धको चैत्य स्थापना गरेका छन् । बन्देजु भन्ने भिक्षुले त्यहाँ विहारमा वसी पूजा आजा गरी संरक्षण गरेको हुनाले त्यस ठाउको नाम बन्देपुर रहन गएको र सो को अपभ्रंश भई यसको नाम बाडेगाउँ रहन गएको हो । हरेक बुधवार यस लोकेश्वरलाई गहना लगाई विशेष पूजा गरिने, गुँला (भाद्र शुक्ल प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा) महिना भरि यसको मेला लाग्ने र बुधवारको दिनमा विशेष मेला लाग्ने भएकोले षडक्षरी लोकेश्वरलाई बुधवाः द्यः भनिएको हो ।’
यसरी उपत्यकाका चार प्रमुख बुद्ध भगवान्हरू (स्वयम्भू, खास्ति, नमो बुद्ध, र बाडेगाउँको चैत्य) र त्रिकुलनाथ (षडक्षरी लोकेश्वर, मञ्जुश्री, वज्रपाणि) , चार महाचैत्य (स्वयम्भू, बौद्ध, चावहिलको धन्दो चैत्य र बाडेगाउँ ), चार स्वयम्भु चैत्य (स्वयम्भू, ललितपुरको क्वावहा, बाडेगाउँ र शाँखु ) मध्येको एक, १४ या १५ बोधिसत्व मध्ये षडक्षरी लोकेश्वर पहिलो पक्तिमा रहेका छन् । १०८ मूल लोकेश्वरहरू मध्ये पनि एक षडक्षरी लोकेश्वर मानिएका छन् । यही गाउँका जनताको इष्टदेवीको रूपमा मानिदै आएका चार बाराहीहरू मध्ये एक श्वेतबाराही र फूलचोकी माइको र भगवान्बुद्ध (बुःबाःद्यः)को साँस्कृतिक जात्रा विभिन्न उत्सव र चाडपर्वको भव्य रूपमा मनाउने गरिन्छ ।

षडक्षरी मन्त्र ‘ॐ मणि पद्मे हूँ’
बुद्धधर्ममा अति नै लोकप्रिय र महत्वपूर्ण मानिने मन्त्र ‘ॐ मणि पद्मे हुँ’ मा छ वटा अक्षर रहेको छ । यो मन्त्र षडक्षरी मन्त्र हो । यही षडक्षरी मन्त्रको प्रभावले मन्त्र जप गर्दा षडक्षरी लोकेश्वर स्मरण र कुनै पनि लोकेश्वरको निधारमा रहेको अमिताभ तथागतलाई दर्शन गरिन्छ ।

षडक्षरी लोकेश्वर रहेको स्थल र आगमघरको अवस्थिति अध्ययन गर्दा यो स्थापना भएको समयमा बन्देशपुर महाविहार एक विशाल क्षेत्र ओगटेको अनुमान गर्न सकिन्छ । षडक्षरी लोकेश्वरको चैत्य लाछिको ठिक मध्यभागमा अवस्थित रहेको छ । चैत्यको बाँया तिर विशाल पोखरी, चोकमा र परिशरमा रहेको थैना गणेश, भीमसेन, नित्यनाथ, भैरवको मूर्तिहरू, पाटीहरू, भवनहरू, ढुङ्गेधाराहरू, साथै वस्तीका घरहरूको समग्र बनावटको आधारमा पनि यो एक महाविहारको रूपमा रहेको छ । यसमा यस बाडेगाउँका संस्कृतिका कार्यहरू हुने गरेको र आगमघरमा रहेको मुकुट, चैत्यमा रहेको मण्डप, सिक्री स्तम्भ आदिको वनावटवाट यहाँ सवै व्यक्तिहरूको संस्कारहरू हुने गरेको अनुमान गर्न सकिन्छ ।

बाडेगाउँको इतिहास
यस क्षेत्र गोदावरी नदीको दुवै किनारामा विकास भएको वस्ती हो । यो गोदावरी क्षेत्रमा ढुङ्गे हतियार(लुभू संगै) फेला पारेको तथ्यवाट यस क्षेत्रमा ढुङ्गे युगदेखि आदीम मानवको वस्ती रहेको अनुमान गर्न सकिन्छ ।
राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नै प्रख्यात गोदावरी कुण्ड र त्यस क्षेत्रमा लाग्ने १२ वर्षे सिंह अष्ट मेलाको कारणले यस क्षेत्रमा मेला भर्न आउने ऋषिमूनिहरू, योगीहरू, राजामहाराजाहरू आएर मन आकर्षण हुन गएकोले सोही स्थानमा आश्रम गरी वसेर फर्कने क्रममा विभिन्न कृतिहरू राख्ने क्रममा नै वस्ती विकास भएर देवी देवताहरू स्थापना गराएका तथ्यहरू पाइएको छ ।
माघ शुक्ल पूर्णिमाको दिन स्थापना गरिएको यस षडक्षरी लोकेश्वरको इतिहास सम्बन्धमा अध्ययन गर्दा वंशावली, शिलापत्रहरू, आख्यानहरू सम्वन्धित व्यक्तित्वहरूको अन्तरवार्ताको आधारमा विभिन्न तथ्यहरूको वर्णन निम्नानुसार गरिएको छ ।
‘भाषा वंशावली भाग १’ मा उल्लेख भए अनुसार – मानदेवको पुर्खा वृषभदेवले बन्देगाउँ बनाइ पञ्च बुद्धको स्थापना गरायो । यसको निर्माणपछि उपत्यकामा स्वयम्भू, खास्ति र धन्दो पछि यस षडक्षरी लोकेश्वर गरी चार प्रमुख बुद्ध भगवानको रूपमा प्रसिद्ध भएको हो । यस्तै वृषभदेव राजाले बुद्धधर्मको अनुशरन गरी गोदावरी नजिक ठूलो विहार (बन्देशपुर महाविहार) बनाई शाक्यसिंह भगवानको प्रतिष्ठा गरेका थिए । यसरी बन्देजूहरूलाई संरक्षण गरिएको विहार बन्देपुर, बन्देशपुर भनिएकोमा कालान्तरमा शब्दावलीको बोलीचालीमा परिवर्तन आएर “बाडा गाउँ” भन्दै “बाडे गाउँ” हुन गएको देखिन्छ ।
यस गाउँको वर्णन गर्ने क्रममा यहाँ रहेका विभिन्न देवीदेवताहरू मध्ये मुख्य देवताको रूपमा रहेको षडक्षरी लोकेश्वरको रूपमा रहेको छ । यस लोकेश्वरको जात्रा श्रावण कृष्ण त्रयोदशीको दिन हुने श्रावणको महिनाभरि मेला लाग्ने भनिएको छ ।
यस षडक्षरी लोकेश्वर स्थापना वृषदेवले गरेको र पाटनको जटाधारी लोकेश्वर पनि वृषदेवले नै गरेको भनी लोकेश्वर महात्म्यमा उल्लेख गरिएको छ । जटाधारी लोकेश्वरको रथ यात्रा रक्तावली लोकेश्वरको रथ यात्राभन्दा करीब १०० बर्ष पहिले देखि नै सञ्चालन भएको थियो । त्यसवेलामा सो यात्रा संगै छ वटा अन्य लोकेश्वरको पनि खटमा राखेर यात्रा गर्ने प्रचलन रहेको थियो । १२ वर्ष सम्म पानी नपरेर मच्छेन्द्रनाथ नेपाल ल्याएपछि पानी परेर सहकाल हुन गएको थियो । त्यसपछि रक्तावलि लोकेश्वरको रथ यात्रा पनि जटाधारी लोकेश्वर सँगै गर्ने र अन्य छ वटा लोकेश्वरहरू सवै एकै रथमा राखेर रथयात्रा गर्ने भनेर ठूलो रथ बनाउदा जटाधारी लोकेश्वर भने नआएको र जटाधारी लोकेश्वरले छुट्टै रथमा संगै यात्रा गर्ने भनी सपनामा आज्ञा भएको हुनाले सोही अनुसार रथयात्रा गरेको भनाइ रहेको छ । हाल सम्म पनि यही अनुरूप रक्तावलि लोकेश्वर र जटाधारी लोकेश्वरको रथयात्रा गरिदै आएको छ ।यस जटाधारी पद्मपाणि लोकेश्वरको स्थापना पश्चात राजा वृषभदेव गोदावरीमा तीर्थव्रत गर्न पुगे । केही समयपछि अनुष्ठान सकी फर्कने क्रममा वीचवाटो (बाडेगाउँ) षडक्षरी लोकेश्वरको चैत्य स्थापना गरी बस्ती बसालेको कुरा उल्लेख गरिएको छ । उक्त पुस्तकमा उल्लेख गरिए अनुसार षडक्षरी लोकेश्वर द्वादश लोकेश्वरहरू मध्ये १२औं स्थानमा १०८लोकेश्वरहरू मध्ये १०३औ स्थानमा र ३६० लोकेश्वरहरू मध्ये २८८औ मा पर्दछन् । द्वादश उपोषढ व्रत अनुष्ठान गर्ने क्रममा आश्विन शुक्ल अष्टमीको दिनमा शुरू गर्ने गर्दछ ।

यो मन्दिर असामान्य ढुङ्गा प्रयोग गरी निर्माण गरिएको बौद्ध मन्दिर हो । अष्टकोणीय आकारको आधारमा बुद्धको प्रतिमा सजाइएको हुन्छ । मन्दिरको उच्च स्थानमा बज्र छ । यसको आँगन (वरिपरि) मा षडक्षरी लोकेश्वर सहित बासुकि, कैलाशको परिवार, पद्मपाणि लोकेश्वर, गणेश र भैरवका मूर्तिहरू रहेका छन् । यस बौद्ध मन्दिर १६औं शताव्दीमा निर्माण गरिएका थिए । एक शिलालेख अनुसार विश्वम्भर भारोले जनता बिटरबहा भन्ने करबाट मुक्त गर्ने कार्य भएको सम्झनामा गुठि स्थापना गरेको उल्लेख गरिएको छ । यसका पुजारी शाक्य हुन्छन् । यसको जात्राको दिन श्रावण शुक्ल त्रयोदशी हो । स्थानीय व्यक्तिहरू र जनताहरू श्रावण महिनाको प्रत्येक बुधवार यस मन्दिरमा पूजा गर्छन् जसले गर्दा यसलाई बुधवा द्यः(बुधवारे देवता) भनिन्छ ।
कार्लप्रूश्चले आफ्नो पुस्तक डि काठमाण्डौं भ्याली मा बाडेगाउँको विस्तृत विवरण दिएका छन् । यसमा षडक्षरी लोकेश्वर रहेको स्थान बाडेगाउँको बारेमा पनि उल्लेख गरिएको छ । बस्तीको नाम उल्लेख भए अनुसार मानदेवका पुर्खा राजा बृषभदेवले एउटा बौद्ध ऋषिको रूपमा गोदावरीमा तीर्थयात्रा गरी फर्केको समयमा, बाटोमा चैत्य र विहार बनाएर भिक्षुहरूको वासस्थानको रूपमा व्यवस्था हुन गएपछि, बन्देजुहरूलाई संरक्षण गरिएको विहार भएकोले बन्देपुर भनिएको हो । निल गुचोभको डि नेपाललिज चैत्य मा उल्लेख भए अनुसार – स्वयम्भूनाथ र बौद्धनाथको महाचैत्य चार प्रसिद्ध चैत्य मध्येको हो जुन बृषदेवका उत्तराधिकारीहरूले स्थापना गरेको थियो । प्रचलित किम्वदन्ती अनुसार बृषदेवले भएका प्रमुख तीन चैत्य बाहेकको क्षेत्र बाहिर पारेर पाचौं शदीको शुरूमा बाडेगाउँमा चौथो चैत्य बनाएको थिए । चार चैत्यहरू स्वयम्भू, बौद्धनाथ, चाबहिल र बाडेगाउँ उल्लेख र थप नमोबुद्ध दुइवर्षे अष्टमी व्रतको लागि लिइएको छ ।

लोकेश्वरका विभिन्न मूर्तिहरू
बाडेगाउँको षडक्षरी लोकेश्वर भगवानबुद्धहरूको खलक(गण)मा र लोकेश्वरहरूको खलकमा पनि पर्ने एक मात्र भगवान् हो । यो १०८ करूणामय, ३६० करूणामयहरू मध्ये पर्दछन् । देवता लिनजाने (करूणामय कावनेगु) भनेर आयोजना गर्ने कार्यक्रममा पनि यस लोकेश्वरलाई समावेश गरिन्छ ।

क) चैत्यमा स्थापित शिलाको षडक्षरी लोकेश्वर
वृषभदेवको पालामा स्थापना गरेको चैत्यको पश्चिमाभिमुखमा शिलाको १’ ६’’ उचाइको षडक्षरी लोकेश्वर रहेको छ । विभिन्न ग्रन्थहरूमा उल्लेख भए अनुसार चार भुजाधारी बज्रासनमा वसेको शिलाको षडक्षरी लोकेश्वरको मूर्ति रहेको छ । मूर्तिमा शिलाकै कलात्मक मुकुट पहिरिएको छ जसको विचमा अभिताभ बुद्धको मूर्ति रहेको छ । मूर्तिको अगाडि शिलाकै बुद्ध, धर्म र संघ मण्डप रहेको छ । संगै शिलाकै वज्रसत्व र मण्डप छन् भने माथि शिलाको पञ्चबुद्धयुक्त तोरण छ । षडक्षरी लोकेश्वरको मूर्तिको आसनको वीचमा कलशयुक्त मण्डप, दायाँ–वायाँ हात्ती र त्यसलाइ टेकेर उभिएको जोडी सिहका मूर्तिहरू रहेका छन् । मूल चैत्यको पूर्वपट्टि शिलाकै सानो आकारको षडक्षरी लोकेश्वरको मूर्ति रहेको मूल पूजारी र अन्य पूजारीहरूले जानकारी दिनुभएको छ । शिलाका सवै मूर्तिहरूलाई पित्तलले उस्तै आकार बनाएर वेरिएको भए पनि कुनैमा शिला देखिएको छ भने कुनै पित्तलको नै मूर्तिहरू देखिएका छन् । षडक्षरी लोकेश्वरलाई सुरक्षित गर्न पहिला फलामको आँखेझ्याल राखेर ताल्चा मार्ने गरेकोमा सोलाइ झिकेर पित्तलकै प्वाल भएको खापा बनाएर कलात्मक हातको अन्तराप बनाएर भोटे ताल्चा मार्न हुने गरी व्यवस्था गरिएको छ । त्यसपछाडि अर्को फलामको वार लगाई ताल्चा मार्ने व्यवस्था गरिएको छ । शिलाको षडक्षरी लोकेश्वरको मूर्ति परिशिष्ट १, चित्र नं. १ मा दिइएको छ ।

ख) धातुको षडक्षरी लोकेश्वर
मुख्य मुख्य दिनमा मात्र बाहिर ल्याई धातुको षडक्षरी लोकेश्वरको प्रदर्शनी गर्ने गरिएको हुन्छ । अरूबेलामा आगमघरको सन्दुशमा राखिन्छ यो मूर्ति चारभुजा, बज्रासनमा बसेको मूर्ति हो । महासम्यक्दान, (लैं (मूला) सम्यक्दान, लवं (ल्वांग) सम्यक्दान, छाउनी सम्यक्दान)को लागि देश वाहिर लगिन्छ भने भाद्र कृष्ण त्रयोदशी (जुगः) को दिन र कार्तिक शुक्ल पूर्णिमाको दिन दुई पटक बाहिर ल्याई चैत्यमा प्रतिस्थापन गरिन्छ । अन्य समयमा आगमघरमा राखेको हुन्छ ।

ग) अभिताभ बुद्ध ः
यस बुद्धलाई भाद्र कृष्ण त्रयोदशी (जुगः) को दिन वर्षको एकपटक मात्रा जात्रा गर्न आगमघरबाट बाहिर ल्याइन्छ र अरूबेलामा यही आगममा राखिन्छ । मूर्तिलाई जरी कपडा, तासको कपडा बेरेर राखी गहना सवै चाँदीको, मोती भएको चादिको सिक्री लगाएको हुन्छ । त्यस दिन यो मूर्ति बाहिर ल्याउनु विशेष पूजा गरी पञ्चदान गर्नु अनिवार्य छ । अभिताभ बुद्धको महत्व अत्यन्त ठूलो छ । सवै लोकेश्वरको शीरमा अभिताभ बुद्ध रहेका हुन्छन् । षडक्षरी लोकेश्वरको शिरमा पनि अमिताभ बुद्ध रहेकाले जात्रा गरिने प्रचलन भएको हो ।यो षडक्षरी लोकेश्वरको तुलनामा सानो आकार भएकोले यस मूर्तिको आसन सहितको भएकोले जात्राको लागि ल्याउँदा र लैजाँदा आसनसहित नै पूजारीले बोकेर ल्याउँछन् ।

घ) बन्देशपुर महाविहार (देवता राखिने आगमघर द्यःछें )
बन्देशपुर महाविहार परिसरमा रहेको षडक्षरी लोकेश्वरको चैत्य अगाडि बाटो काटेपछि सानो गल्ली हुँदै एउटा चोकमा पुग्न सकिन्छ । त्यस चोकमा एक दुईतले कच्ची टायलले छाएको आगमघर ( द्यःछेँ ) रहेको छ । यस घरका मातन र च्वतामा केही कोठाहरू पनि रहेका छन् । यहाँ पञ्चदान, लगायत पूजारीहरुका गुठीका विभिन्न कार्यहरु, चाडवाड मनाउन र अन्य संस्कारहरू तथा बिवाह र चुडाकर्म गर्दा भोजभतेर गर्न प्रयोग गरिन्छ ।

पूजा
क) नियमित पूजा
प्रत्येक दिन देवख्य वा देखःचायकिगु भनेर गोधुलीमा नै नित्यपूजा गरिन्छ । गुठीपालाले बिहान सवेरै उठेर मन्दिरको ताला खोलेर कुचोले बढारेर धुलो फ्याँकेर रातोमाटो र गाईको गोबरले लितपोत गरिन्छ । फेरि बढारिन्छ जसलाई नेपाल भाषामा वसीबं थिलेगु र बंपुय्गु भनिन्छ । त्यसपछि पूजा थाली, टीका राख्ने भाँडो (कायभः), वज्र, कलश, शंख, घण्टा, अर्घ, सानो थाली (बभू), एक प्रकारको कलात्मक धातुको ऐना (ज्वलान्हाएकं) नैविद्य (मिठाइ र चिउरा) राख्ने भाँडो(समय थलः) आदिसवै पूजा सामाग्रीहरू चोखोपानी (नीलः) ले धोएर सफा गरिन्छ । कलश र शंखमा चोखोपानी (नीलः) भरेर त्यही पानीले लोकेश्वर लगायत चैत्यमा रहेका सवै देवीदेवताहरूलाई स्नान गराइन्छ । त्यसपछि फूल, धूप, अक्षता, नैवेद्य, रातो पहेलो र केशर लगायत टीका, दीप, फलफूल आदि विभिन्न भाँडोमा राखेर पूजाथाली (पूजाभः) बनाएर तयारी अवस्थामा राखिन्छ । तयारी अवस्थाको सवै पूजा सामाग्री देवी देवताको अगाडि ल्याएर राखे पछि ‘ॐ नमः रत्नत्रयाय’ मन्त्र पढेर नसला लिएर पूजाको थालनी गरिन्छ । शुरूमा ऐना र कलश अगाडि राखी धूप बालिन्छ । त्यसपछि शंखको जल दायाँ हत्केलामा राखेर वायाँहातले आफ्नो मुखमा ‘ॐ हृीं स्वाहा ।। हृीं स्वाहा ।। हृीं स्वाहा ।।’ वाक्य पढी छर्किन्छ, टाउको र शरीरमा ‘ॐ कायविशोधने स्वाहा ।।’ वाक्य पढेर छर्किन्छ । त्यसपछि विघ्न शान्त पार्न ‘ॐ सर्वविघ्नननुत्सरे हूँ’ पढिन्छ ।

त्यस्तै दैनिक रूपमा बेलुका आर्यनामसंगीति र अन्य स्तोत्र पढी दीपदान गरी आरती गरी मन्दिरको ढोका बन्द गरिन्छ । कुश्ले र खड्गीहरूले बिहान नित्य पूजा गर्ने समयमा र बेलुका आरती गर्ने समय पारेर चैत्यको आगनमा बसेर सन्ध्या बाजा बजाउने प्रचलन थियो । उक्त प्रचलन हाल रहेको छैन ।

ख) अन्य पूजाहरू
बैशाख शुक्ल बुद्ध पूर्णिमाको दिनको बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण भएको दिन भएकोले सो को सम्झनामा पूजा आजा, भजन गाउने गरिन्छ । भाद्र कृष्ण त्रयोदशीको दिन शिलाको र धातुको षडक्षरी लोकेश्वरको मूर्तिलाई सवैले र गुठिको तर्फवाट पनि पूजा गरिन्छ । जात्राको दिन(जुगः) भएकोले नित्य पुजा गरी देखः वा देवख्यः चायकिगु गरिसकेपछि आगमघरमा रहेको धातुको षडक्षरी लोकेश्वरलाई पूजागरि त्यहाँबाट वाहिर ल्याई चैत्यमा प्रतिष्ठापन गरी पूजा गरिन्छ । त्यसपछि सर्वसाधारणले पनि पूजा गरिन्छ । त्यसपछि उपोषढ अनुष्ठान गर्नेहरूले पनि पताका चढाउन ढलं दनेगु गरी विशेष पूजा गरिन्छ । यो सकिएपछि उक्त मूर्तिलाई आगमघरमा लगेर राखिन्छ र अभिताभ बुद्धलाई पूजा गरी आगमघरवाट वाहिर ल्याइन्छ । चैत्यको सामुन्ने रहेको पाटीमा राखिएको खटमा विराजमान गराइन्छ । त्यस लगतै गुठीको तर्फवाट पूजा गरिन्छ । सकिएपछि सर्वसाधारणको पूजा गरिसकेपछि उपोषढ अनुष्ठान गर्नेको र धातुको र कपडाको पताका चढाउनेको ढलं दनेगु पूजा गरिन्छ । यस दिन प्रत्येक घरको तर्फवाट षडक्षरी लोकेश्वर र अभिताभबुद्धलाई नित्यपूजा गरिन्छ र अन्य छिमेकी देशका भक्तजनहरूले पनि पूजा आराधना गर्न आउने र मेला भर्ने हुन्छ ।भाद्र कृष्ण औंसीको दिन होम गरिन्छ ।आश्विन कृष्ण प्रतिपदाको दिन श्रावण कृष्ण प्रतिपदाको दिनदेखि भाद्र कृष्ण औशीको दिनसम्म (गुलाँ ) महिना भरिमा गरेका सवै प्रकारका धर्म, व्रत, परिक्रमा आदि कार्यको साङ्गे वा समापन गरिन्छ ।प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमा(कतिपुन्हि)को दिन विहान सवेरै षडक्षरी लोकेश्वरलाई आगमघरबाट वाहिर ल्याई लाछिमा रहेको चैत्यमा प्रतिष्ठापन गरिन्छ । माघ शुक्ल पूर्णिमाको दिन बुसादँ गरेर पूजा गरिन्छ । षडक्षरी लोकेश्वरलाई गरगहना लगाई विशेष पूजा गरी चैत्यको अगाडि होम गरिन्छ ।
विशेष पूजा वा ऐच्छिक पूजामा अष्टमीको दिनमा गरिने पूजा (उपोषढ) व्रत, ईच्छुक व्यक्तिहरूले १ बत्ती, १०८ बत्ती, १००८ बत्ती ३६० बत्ती, सवालाख बत्ती बाली पूजा गरिन्छ । कुनै व्यक्ति वा संस्था वा समूहले कुनैपनि कार्य सिद्धि भएमा हुने बाञ्छा गरी यस्तो पूजा गरिएको हुन्छ । सवालाख बत्ती वाल्दा परिवार, आफन्त, ईष्टमित्रहरूलाई टीका प्रसाद लगाई भोज खुवाइन्छ ।चार भगवान बुद्ध लिन जाने वा पूजा गर्न जानेमा पनि यसलाई समावेश गर्दछन् ।
यसप्रकार परम्परा देखि नै नेपालमा प्रचलित बौद्ध धर्म र हिन्दू धर्मका अनुयायीहरुले गरिदै आएका विभिन्न प्रकारका धार्मिक संस्कृति, संस्कार, जात्रामात्रा, चाडपर्व आदिको संरक्षण र सम्वर्धन गर्न सवै क्षेत्र, वर्ग र सवै उमेरका व्यक्तिहरुको महत्वपूर्ण भूमिका हुँदै आएको छ । यसो हुँदा हुँदै जनसंख्याको बढी जमात भनेको युवा नै हो । ती यूवाहरु ने देशको संवाहक भएकोले यीनीहरुमा परेको सकारात्मक र नकारात्मक प्रभाववाट नै देशको अवस्थाको जानकारी हुने हुनाले प्रचलित ती संस्कृति, संस्कार आदि प्रतिको झुकावको विषयमा विश्लेषण गर्दा उनिहरुको विभिन्न दृष्टिकोणवाट आफ्नो धारणा व्यक्त गरिएको पाइएको छ ।

समस्या तथा चुनौती
संस्कृति र संस्कार अनि चाडवाड जीवनको अभिन्न अंग हुन पुगेकोले यो विना जीवनको कल्पना पनि गर्न नसक्ने हुँदा यसलाई समय सापेक्ष अत्याधुनिक प्रविधि वीच जगेर्ना गर्न चुनौती खडा हुन पुगेको अवस्था छ ।

उतरार्धमा आएर स्वनिर्मित यस संस्कृतिवाट भएको मनोरञ्जनको विकल्पको रूपमा प्रविधिको विकासले अन्य साधन र स्रोतले विस्थापित गर्दै रहेको अवस्था पनि विद्यमान छ । नवयुवाहरू पश्चिमा शैलीलाई अनुकरण गर्न रूचाउने संस्कृतिको विकास हुन गएको छ । विदेशी संस्कृति भित्र्याएर त्यसको प्रभाव पारी युवायुवतीलाई आकर्षण गरेर तिनिहरूको संख्यामा वृद्धि हुदै जाँदा अपनत्वको कमी भई स्थानीय संस्कृतिमा रूचि घट्दै गइरहेको छ ।

तल्लो र पिछडिएको वर्गको स्थानलाई समाजमा केही भेदभाव भएको व्यवहारको कमजोरीलाई विदेशीहरूले विभिन्न संघ संस्था मार्फत विभिन्न बहानामा आर्थिक सहयोगको लोभ देखाएर धर्म परिवर्तन गराउने कार्य भइरहेको छ ।

बुद्धधर्मका अनुयायीहरूमध्ये हिंसाकर्म गर्ने व्यक्तिहरू, मांसाहारी भोजन गर्ने, तामसी पूजा गर्ने, पेय पदार्थ भोजमा समावेश गर्ने कार्यले पनि धर्मको आदिमा त्यही धर्मलाई नै खाल्डोमा पार्ने कार्य अप्रत्यक्ष रूपमा हुन पुगेको र सो गर्न गराउन विभिन्न बहाना बनाएर दर्शनलाई र दर्शनका व्याख्यालाई अपव्याख्या गर्न खोज्दा संस्कृतिमा असर पर्न गएको छ ।

तामसी भोजन, मादक पदार्थ सेवन, व्यभिचारी, हिंसा, चोरी लुट्ने, कामवासना तिर मोजमस्ती आदि कार्यवाट अशान्ति पैदा भई समाज, परिवार, समूहमा वैमनस्य पैदा भई संस्कृति र संस्कारमा असर पर्न गई सो पर्व मनाउन पनि कठिन हुन गएको छ ।

विलासिताका साधनमा बढी खर्च हुने, माग बढी आम्दानी कम, खर्च गर्नेको संख्या वृद्धिले गर्दा काम गर्नेको समयमा बृद्धि गर्नु पर्दा बढी व्यस्तता हुन गई जीवनयापन गर्नको लागि बनाएको यस प्रकारको संस्कार र संस्कृतिलाई पूरा समय दिन नसक्ने कारणले यस प्रति झुकावमा कमी हुँदै आइरहेको छ ।

समय सापेक्ष, प्रविधिका विकास अनुरूप सरोकारवालाहरूको मनसाय अनुसार जिम्मा लिने व्यक्तिहरूले जस्ताको तस्तै कार्य गराउन खोजी समयानुकूल परिमार्जन गर्न सक्षमता नदेखाएको कारणले कट्टरताको बोलवाला धेरै समय सम्म रहिरहेका संस्कृतिहरू मासेर गएका उदाहरणहरू धेरै देखिन्छन् । त्यसैले उनीहरूको मनसाय भन्दा आम सरोकारवालाहरूको मनसाय र अन्य कारणले गर्नुपर्ने परिवर्तन गर्न कठिन भइरहेको छ ।

पुरातात्विक महत्वका सामाग्री चोरी, कुनै उद्देश्यले विदेशीको ईशारा वा गुठीको जग्गा आफ्नो नाममा पार्न अभिलेखहरूमा क्षति गरेर नोक्सान पुु¥याउने संभावना देखिन्छ । हेर्न नहुने र गर्न नहुने गर्दा संरक्षण र जगेर्ना गर्न समस्या एकातिर छ भने सबै क्षेत्रका व्यक्तिलाई पहुंच गर्दा खराव नियति भएका व्यक्ति मार्फत यो यहाँ छ, त्यहा छ, यसो गरिन्छ आदि भनेर थाहा पाउनेलाई साथ लिएर मास्न लगाउने र चोरी गर्ने गरेको पाइएको छ ।

बिविध प्रकारका प्राकृतिक प्रकोपको कारणले नष्ट हुँदै गइरहेको अमूल्य सम्पदाहरू समयमा निर्माण र मर्मत नगरेको कारणले पनि समस्या उत्पन्न भएको र सो को लागि आर्थिक अवस्था कमजोर भएको कारणले अर्को चुनौती थपेको अवस्था छ । गत वि.सं.२०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पले पूर्ण नष्ट भएको बन्देशपुर महाविहारको भवन निर्माण कार्य गर्न कठिन भएको अवस्था छ ।

यस क्षेत्रमा आवश्यक पर्ने योजना जस्तै मर्मत तथा सम्भार, जीर्णोद्धार, पुनर्निमाण, आदि योजनामा सरकारी प्राथमिकतामा नपरी अमूल्य सम्पदाहरू नष्ट हुने प्रक्रियामा तीव्रता आएको अवस्था छ । भएका योजनाहरूको लागि पनि आवश्यक भन्दा धेरै कम बजेट व्यवस्थाले गर्दा समस्या उत्पन्न भएको छ । राजनैतिक हस्तक्षेपले पवित्र मठाधीश, भन्सारी, पूजारीहरूको स्वतन्त्र कार्य गर्न समस्या हुने गरेको छ । ठूलो आस्था भक्तिले चढाउने गरेका खाद्य सामाग्रीको खान उपयुक्त नभएर नोक्सान हुने, जिन्सी सामानहरूको लगत अद्यावधिक नगर्दा मासेर गएका छन् भने बहुमूल्य सामानहरू व्यक्तिगत प्रयोजन गर्ने, पूजारीहरूलाई कार्य सम्पन्न गरेवापत आवश्यक पारिश्रमिक नदिने कार्यवाट पनि विभिन्न समस्याहरू उत्पन्न भइरहेका छन् । टाढा टाढावाट देवतालाई चढाउने नाममा पैसा फालेर, केमिकल युक्त सिन्दुर, अबिर र केशरीको प्रयोगले बहुमूल्य आकर्षक मूर्तिहरूलाई नोक्सान भई कुरूप तुल्याएको अवस्था छ । अघिल्ला पुस्ताहरूले गुठीको कामहरू गर्ने व्यक्तिहरूको अभावमा विभिन्न वैवाहिक सम्वन्ध गरेर सोवाट जात जन्माएर तिनीहरूलाई जात अनुसारको कार्य दिएका उदाहरणहरू पनि देखिन्छन् । जसले आवश्यक व्यक्तिहरूको अभाव बढ्दै गइरहेको अनुभव हुन्छ ।

निष्कर्ष

बुद्धधर्मको लोकप्रिय मन्त्र ‘ॐ मणि पद्मे हु’ को साक्षात् प्रतीकको रूपमा रहेको षडक्षरी लोकेश्वर रहेको छ ।े बुधवाद्यः भनेर चिनिने षडक्षरी लोकेश्वर बाडेगाउँमा रहेका छन् । यस लोकेश्वरको महत्व कथा, पुराण तथा अन्य विभिन्न ग्रन्थहरूमा जति मात्रामा व्यापकता दर्शाइएको छ त्यति नै मात्रामा हालको सामाजिक र व्यवहारिक क्षेत्रमा भएको देखिंदैन । यसरी नै यस क्षेत्रमा रहेका विद्यमान पुरातात्विक महत्वका वस्तुहरूलाई संरक्षण गर्दै लोप भएका वस्तुहरूको नामावली बनाई खोजविन गर्नु अत्यावश्यक छ । साथै बन्देशपुर महाबिहारको हालको अवस्थाबाट पुर्वको स्वरूपमा पु¥याउने प्रयास गरिनु पर्ने देखिएको छ । यसको लागि पूजारी, स्थानीय बुद्धिजिवीहरू, विशेषज्ञहरू, सरकारी र गैर सरकारी निकायका सम्बन्धित प्रतिनिधिहरू र अन्य सम्बन्धित ब्यक्तिहरू भएको एक समिति बनाई छलफल गरी एक कार्य योजना तयार गरी सो अनुसार कार्य अघि बढाउनु पर्ने देखिन्छ ।
संस्कृति, संस्कार, रहनसहन, रीतिथिति, रिवाज, वंशपरम्परा, सांस्कृतिक पर्वहरू, सांस्कृतिक सम्पदाहरू हाम्रो जीवनको अभिन्न अंगको रूपमा रहिरहेका छन् । त्यसैले यिनीहरू रहेमा हामी रहन्छौ र नरहेमा हाम्रो जीवन संकटमा पर्छ । विश्वका ठूला ठूला विकसित मुलुकहरूले पनि यस्ता विषयलाई अंगालेर नै युरोपियन देश, जापान, चीन, सिङ्गापुर, मलेशिया जस्ता देशहरूले विश्व सामु अब्बल दर्जामा पु¥याएका हुन् । त्यसैले हामीले पनि तिनीहरूले गरेजस्तै समयानुकूल प्रविधिको विकास संगै परिमार्जन गर्दै अघि बढ्न सकेमा यस विषयमा हाम्रो आफ्ना अपनत्वको भावना बढाउदै लैजान सकेमा पुर्खाले हामीलाई दिएका नासोको रूपमा रहेको यो हाम्रो संस्कृति, संस्कार, रहनसहन, रीतिथिति, रिवाज, वंशपरम्परा, सांस्कृतिक पर्वहरू, सांस्कृतिक सम्पदाहरूलाई संरक्षण सम्वर्धन गरी आगामी हाम्रा पुस्तालाई सही–सलामत हस्तान्तरण गर्न सकिन्छ, अन्यथा हाम्रो दायित्व पुरा भएको मान्न सक्ने अवस्था रहन्न ।

सन्दर्भ सामग्री
घिमिरे, ऋषभदेव, गोदावरी संक्षिप्त परिचय, गोदावरी, ललितपुर ः वि.सं. २०६० ।
पौडेल, नयनाथ (सं.), भाषा वंशावली –भाग १, काठमाण्डौं ः नेपाल सरकार, पुरातत्व विभाग, नेपाल राष्ट्रिय पुस्तकालय, वि.सं. २०२० ।
बज्राचार्य, धनवज्र,पूर्व मध्यकालकाअभिलेख, कीर्तिपुर ः त्रि.वि.वि., नेपाल र एशियाली अनुसन्धान केन्द्र, वि.सं २०६८
बज्राचार्य, धनवज्र, मध्यकालकाअभिलेख,कीर्तिपुर ः त्रि.वि.वि., नेपाल र एशियाली अनुसन्धान केन्द्र,
वि.सं २०६८
बज्राचार्य, रञ्जना, जेष्ठ वर्ण महाविहार,ललितपुर ः श्री आशारत्नधाख्वा, वि.सं २०६० ।
बज्राचार्य, रञ्जना, नेपालको बुद्ध धर्ममा अष्टमी व्रत, ललितपुर ः आशारत्नधाख्वा, वि.सं २०५७ ।
बज्राचार्य, रञ्जना, नेवार बौद्ध संस्कार,कीर्तिपुर ः त्रिभुवनविश्वविद्यालय, नेपाल र एशियाली अनुसन्धान केन्द्र, वि.सं २०६८
रेग्मी, जगदीशचन्द्र, प्राचीनकालिन नेपाली संस्कृति, ललितपुर ः साझाप्रकाशन, विं.सं. २०३९ ।
लेभि, सिल्भा, नेपाल, काठमाण्डौ ः हिमालकितावप्रा.लि. सन् २०१० (वि.सं.२०६७)
शर्मा, जनकलाल, “नियोलिथिक टुल्स फ्रम नेपाल”, प्राचीन नेपाल, अंक ७५, बैशाख, जेठ, वि.सं.२०४० ।
शर्मा, बालचन्द्र, नेपालको ऐतिहासिक रुपरेखा, बनारस ः कृष्ण कुमारी, वि.सं. २००८ ।
शाक्य, हेमराज, ॐ मणि पद्मे हूँ, काठमाण्डौ ः साङ्गेछ्योलिङ् गुम्बा, वि.सं २०५३ ।
श्रेष्ठ, दयाराम, लुभूक्षेत्र, काठमाण्डौ ः रामप्यारी श्रेष्ठ, वि.सं. २०७१ ।

error: Sorry, the content is protected !!