Reflection to webinar ” Current Global Crisis & Buddhist Education”

लुम्बिनी बौद्ध विश्वविद्यालय (लुबौवि)को आयोजनामा २५६४औं बुद्ध जयन्तीको पावन अवसरमा वर्तमान समस्याहरुको सन्दर्भमा बुद्धशिक्षाको महत्व विषयक एक वेबिनार कार्यक्रम २०७७ साल बैशाख २५ गते अपरान्ह २ बजेदेखि ५ः३० बजेसम्म जूम प्लेटफार्म मा सफलतापूर्वक सम्पन्न भयो ।


अनागारिका आज्ञायानीको अगुवाइमा शील प्रार्थनाबाट शुरु भएको सो वेबिनार कार्यक्रममा प्रदेश–५का मुख्य मन्त्री श्री शंकर पोखरेल र शिक्षा मन्त्री श्री गिरीराजमणी पोखरेलबाट भिडियो सन्देशहरु प्राप्त भएको थियो । मुख्य मन्त्री श्री शंकर पोखरेलले आफ्नो सन्देशमा विश्वव्यपी कोविड–१९ महामारीको कारण लुम्बिनी भ्रमण बर्ष अधूरो भएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले यो वेबिनारमा बुद्धशिक्षाबारे चर्चा हुनुका साथै जीवन दर्शनका विभिन्न आयामहरुबारे पनि चिन्तन हुनेमा आशा व्यक्त गर्नुभयो । शिक्षा मन्त्री श्री गिरीराजमणी पोखरेलले बुद्ध दर्शन वैज्ञानिक हुनुका साथै समाजलाई विभिन्न प्रकारका दुःख र पीडाबाट पनि मुक्त बनाउन सक्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । मुख्य मन्त्री र शिक्षा मन्त्री दुबैले बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारले देशव्यापी रुपमा दीपावलीगरेर कोविड–१९ महामारी विरुद्ध अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवम् स्वयंसेवकहरुको सम्मान गर्न र महामारीबाट सबैजना सुरक्षित रहनको लागि आह्वान गर्नुभयो ।


लुबौविका रजिष्ट्रार डाक्टरश्री तिलक राम आचार्यले आफ्ना स्वागत मन्तव्यमा आज अर्थात् तिथि अनुसार बुद्ध पूर्णिमाको दिन बुद्धका तीन विशिष्ट दिनहरु अर्थात् जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग परेकोले पनि अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो । उहाँले बुद्ध धर्म मानव लगायत समस्त प्राणीहरुको कल्याणहेतु समर्पित रहेको बताउनुका साथै र बुद्ध शिक्षामा गहन दार्शनिक पक्ष हुनुकासाथै जनसाधारणले अङ्गिकार गर्नसक्ने सरल सामाजिक शिक्षा पनि निहित रहेको व्यक्त गर्नुभयो । वर्तमान महामारीको सन्दर्भ जोड्दै उहाँले विद्यमान देशबन्दिमा बुद्धको शिक्षा अनुसार सबैले मैत्री, करुणा, मुदिता र उपेक्षा अनुरुप शील पालन गनूपर्ने उल्लेख गर्नुभयो। साथै, उहाँले बुद्धका अनुसार सबै अनित्य हुने भएकोले यो कोरोना भाइरस पनि आफ्नो समयमा हराउनेनै छ भन्नुभयो ।


लुबौविका कुलपति प्राध्यापक डाक्टर श्री हृदयरत्न बज्राचार्यले वेबिनारका प्रमुख वक्ताको हैसियतले आफ्नो मन्तव्य राख्ने क्रममा आजको दिनलाई स्वाँया पुन्हि अर्थात् फूलको उत्सबको रुपमा पनि मनाइने चलनरहेको बताउनु भयो ।हालको महामारीको सन्दर्भ जोड्दै उहाँले विश्वभरीको लकडाउनले गर्दा वर्तमानमा भइरहेको आर्थिक, सामाजिक एवम् भौतिक विकासको क्रममा एकप्रकारकोपूर्णविराम आइलागेको अवस्था रहेको परिप्रेक्षमा त्यसपछिको नयाँ परिवर्तनमा नयाँ ढङ्गबाट जीवन शैलि चल्नसक्ने बताउनु भयो । हालको परिप्रेक्षमा चिकित्सा, कम्प्युटर, सूचना, संचार, यातायात, अन्तरीक्ष अन्वेषण, लगायतका क्षेत्रमा विज्ञान र प्रविधिको द्रुत बिकास का कारण भौतिक यथार्थता अथवा संभावना र काल्पनिकता विचको सिमानाहरु क्षीण भइरहंदा पनि कोरोना भाइरसको प्रकोपमा निरीह र आक्रान्त रहनु परेको औंल्याउन भयो । यसबाट विज्ञान र प्रविधिको द्रुत बिकासबाट मात्रै प्रकृति, जीवन र संसारको समस्या समाधान पुर्ण नहुने रहेछ भन्ने स्पष्ट भएको छ । यस परिप्रेक्षमा दुद्धको दर्शन तथा शिक्षाको महत्व अझ स्पष्ट भएको छ । बुद्धको मध्यम् मार्ग दर्शन र शिक्षाबाट प्रकृति र जीवन का यथार्थता तथा भौतिक बिकास बिच सन्तुलन बुझ्नु महत्वपूर्ण रहेछ । ज्ञान र विज्ञान को साथै प्रज्ञा, शील, ध्यान समाधि को पनि अति महत्व छ । त्यस्मा पनि मैत्रि, करुणा, मुदिता र उपेक्षा का भाव र दृष्टि नरहेमा कोरोना भाइरस प्रकोप जस्ता समस्याको दुरगामि समाधान हुनपाउदैन । यस परिपे्रक्षमा लुम्बिनी बौद्ध विश्वविद्यालय दुद्धको दर्शन तथा शिक्षाको संबर्धन तथा प्रबर्धन मा लागिपरेको कुरा ब्यक्त गर्नेभयो । उहाँले बुद्धकालमा बैशालीमा पनि महामारी फैलिएको र त्यसबेला भौतिक र सामाजिक दुबै प्रकारका उपायहरु अबलम्बन गरेको द्दृष्टान्त उल्लेख गर्नु हुँदै बुद्ध एक विज्ञानवादी रहेको बताउनु भयो । बुद्धको शिक्षा अनुसार कोरोना भाइरसलाई शत्रुता ठानेर युद्धको घोषणा गरेर भन्र्दा ै सबैप्रति करुणा एवम् मैत्री भाव लिएर त्यसप्रकारको प्रकोप बाट बच्न, बचाउन, र सदाकालागि उन्मुक्ति प्राप्तितर्फ प्रज्ञा, शील र ध्यान सहित उन्मुख हुनुपर्नेबारे आफ्नो धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रमको औपचारिक शुरुवात पश्चात् वेबिनार कार्यक्रमका वक्ताहरुले क्रमशः आफ्ना मन्तव्य राख्नेप्रक्रिया शुरु भयो । लुबौविका मानविकी तथा सामाजिक विज्ञान सङ्कायका डीन प्राध्यापक डाक्टर वेद प्रसाद गिरीको संयोजनमा सम्पन्न सो कार्यक्रमका ६ जना वक्ताहरु क्रमशः यस प्रकार हुनुहुन्थ्यो ः

ड्ड श्री मेत्तेय शाक्यपुत्त, लुबौवि सभासद्
ड्ड श्री शीर लामा, लुबौवि सभासद्
ड्ड प्राध्यापक श्री बसन्त बिडारी, लुबौवि पुरातत्व कार्यक्रम
ड्ड डाक्टर श्री कविन्द्र बज्राचार्य, लुबौवि कार्यकारी समिति सदस्य
ड्ड डाक्टर श्री त्रिरत्न मानन्धर, लुबौवि एप्लाइड बुद्धिजम विषय समिति अध्यक्ष
ड्ड श्री अनागारिका आज्ञायानी, प्राध्यापक, थेरबाद एकेडेमी

श्री मेत्तेय शाक्यपुत्त, लुबौवि सभासद्
हालको देशबन्दि अवस्थामा एकान्तवासमा बसेर आफू सुरक्षित रहने र अरुलाई पनि सुरक्षा दिनुपर्ने भनेको बौद्ध शिक्षाको सिद्धान्त अनुरुपको व्यवहार हो । कोरोना भाइरसप्रति बौद्ध द्दृष्टि अनुसार पहिलो प्रयास व्याधिबाट मुक्ति पाउनु हो। र त्यो भनेको करुणा र मैत्रीबाट विजय प्राप्त गर्नु हो । कोरोनाभाइरसले लाखौं व्यक्तिलाई आक्रमण गरेको छ, तर अनुपातमा थोरैको मात्र ज्यान लिएको देखिन्छ ।
बौद्ध शिक्षाको सरल अभ्यास आनापानीले कोरोनाले आक्रान्त व्यक्तिलाई सजिलो बनाउँछ ।साथै, त्यस्तो अभ्यासद्वारा प्रज्ञा उत्पादन गर्ने चिन्तन जगाउँछ ।यसैबेलाको एकान्तबासको समयमा हुनसक्ने चिन्तन र अध्ययनमा ध्यान् जानु उपयुक्त देखिन्छ ।
कोरोना मानिसको सामुन्ने ऐना भएर उभिएको छ । पृथ्वी, जल र वायु गरी यी तीन वस्तुहरुको आधारमा जीवनयापन गर्ने मानिसले वातावरण नाश भएको सो ऐनामा झल्किन्छ । बुद्धकालिन समयको बैशालीमा महामारी चल्दा हावा दूषित हुनुलाई कारण मानिएको थियो । पहिला रोग फैलिएको थियो, त्यसपछि भोकमरीले सतायो, र पछि दुर्भिक्ष हुनथाल्यो ।त्यसबेला, बुद्ध उचित समयमा मात्र बैशाली प्रस्थान गरेको रहेछ । बैशालीको सो महामारी शान्त गर्न प्रयासमा रत्न सूत्तको सिर्जना गरेको बुझिन्छ । यसरी बौद्ध दर्शनमा आध्यात्मिक र भौतिक दुबै आयामको सम्मिलन पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा यो अझै सान्दर्भिक देखिन्छ । यसै सन्दर्भमा, यो लुम्बिनी बौद्ध विश्वविद्यालयले पनि अबको महामारीबाट मुक्ति पाउन सामाजिक परिचालन गर्नुपर्ने अवस्था आएको देखिन्छ ।
वर्तमान अवस्थामा “कोरोना” र “करुणा” भन्ने दुई शब्दहरुमा विचार गर्दा दार्शनिक करुणाले मात्रै समस्या समाधान हेन सक्दैन, प्रज्ञानै चाहिन्छ । मानिसले आफ्नो स्वादको लागि जनावरको हिंसा गर्ने गरेको छ । अहिले सुन्नमा आए अनुसार कोरोना भाइरस जनावरहरुबाट मानिसमा सरेको भन्ने छ । हरेक प्राणीमा बाँच्ने अभिलाषा हुन्छ, र दण्ड र मृत्युबाट उनीहरुमा डर हुन्छ । त्यसैले मानिसमा सबै प्राणीहरु प्रति करुणा भाव जागृत हुनु आवश्यक छ ।

श्री शीर लामा
बुद्ध जयन्तीको उपलक्षमा सबैलाई शुभकामना छ ।

बुद्ध जीवनि कथा बाहेक दार्शनिक विषय हो । हिमाली भाषामा लिपीबद्ध महायानी बौद्धग्रन्थमा आधारित बुद्धको १२ लीलामा उहाँको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणका प्रसंगहरु भेटिन्छन् ।मूलतया बुद्ध शिक्षामा शील, समाधि र प्रज्ञा गरी त्रिशिक्षाको प्रसंग मिल्छ । उहाँले सारनाथबाट ३५ बर्षको उमेरदेखिन् ८० बर्षसम्म ४५ बर्षको समयमा निरन्तर अथक प्रयास गरी शिक्षा प्रदान गर्दैमा बिताउनु भयो । उहाँको शिक्षामा सर्वसाधारण व्यक्तिदेखिन् राजनीतिज्ञ र अर्हत्सम्मको लागि उपयोगी प्रसंगहरुभेटिन्छन् ।

अहिलेको कोविड–१९ बौद्ध ग्रन्थहरु कतै लिपीबद्ध भएको त पाइन्दैन,तर उस्तै प्रकारको प्रसंग भने नभएको होइन । बौद्ध दर्शन अनुसार दुःख आर्य सत्य हो, र कोविड–१९ पनि एक प्रकारको दुःख हो । साथै, सबै कुरा अनित्य भएजस्तै, कोरोना पनि अनित्य नै हो । अहिलेको महामारीको पछाडि मानिसको क्लेश, अहङ्कार, कुकर्म, पापकर्म आदिको कारण अकाल महामारी उत्पन्न भएको हो ।

नालंदा विश्वविद्यालयका विद्वानहरुले अभिधम्म कोषको सिर्जना गरेका थिए । त्यस्मा दानपारमिता लगायत त्रिशिक्षाका शील, समाधि र प्रज्ञाबारे चर्चा गरिएको पाइन्छ । अहिलेको देशबन्दिको अवस्थामा अनुशासन र आत्मबल महत्वपूर्ण देखिन्छ । भवतु सब्ब मङ्गलम् ।

बुद्धलाई वैज्ञानिक वा दार्शनिक दुबै द्दृष्टिकोणले हेर्ने चलन छ । आआफ्नो मति र क्षमता अनुसार बुद्धलाई चिन्ने र उहाँको शिक्षालाई व्याख्या गर्ने चलन पनि छ । दुबै द्दृष्टिकोणमा अभ्यासमा जानु अनिवार्य हुन्छ ।

डाक्टर श्री कविन्द्र बज्राचार्य
बुद्धशिक्षा अनुसार दुःख हुन्छ, त्यस्को कारण हुन्छ, र निवारण पनि हुन्छ । अब स्वास्थ्य विज्ञानको द्दृष्टिकोणबाट हेर्दा कोरोना एक प्रकारको आरएनए भाइरस हो, र यसबाट उत्पन्न कोविड–१९ श्वासप्रश्वाससंग सम्बन्धित रोग हो । अहिलेम्मको तथ्याङ्कलाई केलाउँदा यो रोग लागेको मध्ये १४ प्रतिशतको मृत्यु भएको देखिन्छ । यो मूलतया शारीरिक रोग भएतापनि यस्ले मानसिक रोगलाई पनि निम्त्याएको देखिन्छ । साथै, यो रोग लागेको व्यक्तिलाई घर, छिमेक, टोल र नगरमा अछूत जस्तो व्यवहार हुन लागेको देखिन्छ । यो रोगले कुनै जात वर्ग विशेषलाई छुट्याउँदैन, न त यस्ले पद वा व्यवसायलाई नै छुट्याउँछ ।

कोविड–१९बाट बच्ने मुख्य दुई उपाय छन्, ती हुन् आफू बच्ने, र यसलाई संसारबाटै निर्मूल गर्ने । अहिलको सन्दर्भमा भौतिक उपचारका साथै, मानसिक उपचार पनि आबश्यक देखिन्छ । डाक्टरहरुले पनि मानसिक रुपमा उपचार गर्ने प्रयास थालेका छन् । यसै सिलसिलामा, ध्यान् पद्धति, मन्त्र, सूत्त पाठ आदिलाई पनि सम्झनु आबश्यक देखिन्छ । ऐतिहासिक कालमा बन्धुदत्त आचार्यले पानी नपर्दा गरका प्रयासहरुलाई सम्झन सकिन्छ ।

बुद्धशिक्षा अनुसार नै विचार गर्दा पहिलो प्रयास रोगै नलागोस् भन्नेतर्फ सजग हुने, लागि हालेमा निको होस् भन्नेतर्फ प्रयासरत रहने, र रोगबाट कोहि मृत्यु हुन गएमा उस्को लागि शान्ति कामना गर्ने ।

डाक्टर श्री त्रिरत्न मानन्धर
अहिलेको कोरोना महामारी विश्वका २०० देशहरुमा फैलिसकेको छ । त्यसको कारण दुई लाख पचास हजार भन्दा बढिले ज्यान गुमाएको अवस्था छ, र छत्तिस लाख भन्दा बढि संक्रमित भएका छन् । चारैतिर कामको अभाव देखिन्छ, साथू खाद्य र औषधिको पनि अभाव देखिन्छ । उत्पादकले ग्राहक पाउन सकेको छैन भने ग्राहकले उत्पादन नपाएको अवस्था छ । यो महामारीबाटउपयुक्त समयमा त्राण पाउने आशा गर्न सकिन्छ ।

बौद्ध दर्शन अनुसार बहूजन अर्थाय, बहूजन हीताय र बहूजन सुखायको लागि आर्थिक, सामाजिक र आध्यात्मिक पक्षहरुबाट विश्लेषण गर्नु आवश्यक देखिन्छ । सामाजिक रुपले एक ठाउँमा एकजना मात्र जानु उपयुक्त देखिन्छ । बौद्ध अर्थशास्त्र अनुसार हेर्दा भोग सबभन्दा ठूलो रोगकोरुपमा देखा पर्छ । बुद्ध वचन अनुसार जीवनयापनका लागि कमाउनु पर्छ, तर नैतिकताको आधारमा मात्रै ।

बौद्ध दर्शनको गृहस्थ शिक्षामा दशपारमिता अन्तर्गत दानको ज्यादै ठूलो महत्व दर्शाइएको छ । अहिलेको परिप्रेक्षमा राहत बाँड्ने र सक्दो सहयोग जुटाउने कार्य नै महत्वपूर्ण देखिन्छ । साथै, विद्या आचरणका १५ चरणहरुमा भोजनको मात्रा एवम् अन्य वस्तुहरुको उपभोग गर्ने शैलीलाई सहज जीवनयापनमा आवश्यक पर्ने अनुसार मात्र गर्नु भन्ने उल्लेख छ ।

सन् १९७३ मा प्रकाशित अन्स्र्ट फ्रेडरिक शुमेकरले “स्मल इज ब्युटिफूल” नामक आफ्नो पुस्तकमा पहिलो खण्डको चौथो अध्यायमा बुद्धिष्ट इकोनोमिक्सबारे बयान गर्नुभएको छ । बर्मा (म्यान्मार)को आफ्नो अनुभवलाई समेटेर उहाँले सो अध्याय तयार पारेको हो । त्यस्मा उहाँले सम्यक् जीवनयापनबारे व्याख्या गर्नु भएको छ । अभावको समयमा सन्तोष लिने, कुनै वस्तु वा सुविधा प्रति आशक्ति हुन नहुने, र आफ्नो शरीरलाई दुःखनदिने आदि विषय बौद्ध अर्थशास्त्रको सिद्धान्त अन्तर्गत पर्छ ।

अष्टलोक धर्म अनुसार सुःख–दुःख, निन्दा–प्रशंसा आदि भनेको सबै आफ्नो कर्मले हुनसक्छ । अहिलेको अवस्थामा कलकारखानाको उत्पादन छैन, तर मजदूरहरुलाई ज्याला दिनुपर्ने हुन्छ; आफ्नो व्यवसायको आम्दानि छैन, तर कर्मचारीहरुलाई तलब दिनुपर्ने हुन्छ; साथै घरधनीले पनि बहालमा बस्नेसंग कसरि घरभाडा माग्ने भन्ने प्रश्न उठ्न सक्छ ।बौद्ध अर्थशास्त्रको अर्को महत्वपूर्ण पाटो भनेको खानेकुरा लगायत उपभोग्य वस्तुहरुफाल्ने नगर्नु, र त्यस्ता वस्तुहरुको अधिकतम प्रयोगका साथै पुनःपुनः प्रयोग गर्नु भन्ने पनि हो । यी त भए लघुअर्थशास्त्रका केहि द्दृष्टान्तहरु ।

अब समष्टि–अर्थशास्त्रको प्रसंगमा कुरा गर्ने हो भने राज्यले अधिकसेअधिक रोजगारीको सिर्जना गर्ने, राज्यको प्रशासनिक खर्चमा कटौटि गर्ने, र सबैभन्दा महत्वपूण) पक्ष भनेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । रोजगारीको सन्दर्भमा प्रसंग उठाउनु पर्दा अहिले विदेशमा रोजगारी गुमेका तीसलाख भन्दा बढि नेपाली युवाहरु स्वदेश फर्कने क्रममा छन् । उनीहरुको लागि उचित रोजगारी सहित व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी हुनआउँछ ।

दक्षिण कोरियामा एकजना बौद्ध भिक्षुले युवाहरुलाई गाउँमा फर्केर गई कृषिमा लाग्न प्रेरणा दिएको प्रसंग अहिले नेपालमा सान्दर्भिक देखिन्छ । विदेशबाट फर्केर आउने युवाहरुलाई राज्यले ग्रामीण क्षेत्रमा बाँझो रहेको खेतमा काम गर्ने वातावरण सिर्जना गर्नु पर्छ ।

त्यसैगरी बौद्ध दर्शनमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने कार्य राजाबाट थालनि गर्नु पर्छ भन्ने प्रसंग कोशल राजाको द्दृष्टान्त ज्यादै सान्दर्भिक देखिन्छ ।

श्री अनागारिका आज्ञायानि
अहिले महामारीको परिस्थितिमा सबैको सुखशान्तिको कामना छ ।

स्वास्थ्यलाई शरीर र मनबाट हेर्दा शारीरिक र मानसिक भन्ने बुझ्न सकिन्छ, यी दुबै एक अर्कासंग सम्बीन्धत पनि छन् । मानसिक स्वास्थ्य बिग्रन थाल्यो भने डर, त्रास, चिन्ता आदिले सताउन्छ । त्यस्को परिणाम स्वरुप शरीरका विभिन्न अङ्गहरुको चालमा असन्तुलन देखा पर्छ, जस्तै मुटुको धड्कन बढ्ने, रक्तचाप बढ्ने, श्वासप्रश्वास बढ्ने, टाउको दुख्ने, माँसपेशी दुख्ने, पाचन प्रणालीमा गडबड हुने, अनिद्रन हुने आदि आदि ।भनिन्छ, एक घण्टाको चिन्ताले १२ घण्टाको थकान ल्याउन सक्छ । त्यसैले मनका कुरालाई प्रकट गर्ने, सकारात्मक सोच राख्ने, र आफ्नो रुचीको काममा तल्लिन हुने आदि गर्नु उपयुक्त हुन्छ ।

बौद्ध दर्शनमा भए अनुसार परित्राण पाठ, धर्मदेशणा, स्मृति ध्यान् आदि मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ । दीर्घनिकाय त्रिपिटकमा यस सम्बन्धि थुप्रै सूत्तहरु पनि छन् । पश्चिमा जगतमा माइण्डफूल एवरनेश प्राक्टिस्र माइण्डफूल बेस्ड स्ट्रेश रिडक्शन्स आदिको नाममा ध्यान् सम्बन्धि अभ्यासको प्रचार–प्रसार भइरहेको छ ।

छलफल
वक्ताहरुको प्रत्येक प्रस्तुति पश्चात प्रश्नोत्तरको व्यवस्था गरिएकोमा केहि प्रश्नहरु र त्यस्का केहि प्रतिक्रियाहरु यस प्रकार छन् ः

डाक्टर श्री माणिक रत्न शाक्य
नेपालमा अखासगरी लुम्बिनी बौद्ध विश्वविद्यालयमा ध्यान् विषयमा स्नातकात्तर तहको शिक्षा प्रदान गर्न सकिने सम्भावना छ कि छैन ।

श्री मेत्तेय शाक्यपुत्त, लुबौवि सभासद्
हाल काविड्–१९ को महामारीको बेला बजेटमा कस्तो व्यवस्था हुनु पर्ने हो सोको लागि बौद्ध अर्थशास्त्र अनुरुप केकस्तो गर्न सकिन्छ त्यस्तै १०वटा जति सुझाव यो विश्वविद्यालयले दिनु उपयुक्त देखिन्छ । त्यस्को लागि यस्तै वेबिनारको आयोजना पनि गर्न सकिन्छ ।

कतिपय विश्वविद्यालयहरुलाई ध्यान् विषयमा उच्च शिक्षाको नाममा सतहि र सैद्धान्तिक ज्ञान मात्र दिने गरेको आक्षेप लाग्ने गरेको छ । गुणस्तरको शिक्षाको लागि ६ महिना सैद्धान्तिक ज्ञान दिएर १८ महिना अभ्यासमा खचर््िानु उपयुक्त हुने देखिन्छ । हालमा ध्यान् विषयमा उच्च शिक्षाको नेपालमा खासै ठूलो बजार पनि विकसित भएको देखिन्दैन ।

श्री फणिन्द्र प्रसाद न्यौपाने, क्याम्पस प्रमुख, केन्द्रिय क्याम्पस, लुबौवि
आजकाल मानसिक चिन्ता र नैराश्यता बढेको, विद्यालयमा पनि समूहिक बिमारी (हिष्टेरिया) बढेको भन्ने छ । यस्को समाधानतर्फ बौद्ध सुत्तहरुको अध्ययन गर्नुपर्ने देखिन्छ ।
दयानिधि गौतम
पदार्थ र चेतनामा कुन पहिलो होला, यसबारे केहि जानकारी होला कि ।

इन्द प्रसाद काफ्ले
… … … … … .

प्राध्यापक डाक्टर श्री हृदयरत्न बज्राचार्य
पदार्थ र चेतना सम्बन्धि जानकारी प्रज्ञा पारमितामा भेटिन्छ ।

प्राध्यापक डाक्टर श्री हृदयरत्न बज्राचार्य
बौद्ध अर्थशास्त्र जस्तै अरुपनि विभिन्न विषयहरुमा वेबिनारको आयोजना गर्नु पर्ने देखिन्छ, जस्तै सामाजिक क्षेत्रमा विश्वविद्यालयको भूमिका, र ध्यान् विषयमा उच्च शिक्षाको सम्भाव्यता आदि ।

“लुम्बिनी प्रभा”सार्बजनीकरण
लुबौविको केन्द्रिय क्याम्पसको सक्रितामा सन् २०१६ देखिन् बर्षेनि प्रकाशित हुँदै आएको “लुम्बिनी प्रभा” पत्रिकाको ५औं अङ्क यहि वेबिनारमा लुबौविका कुलपति प्राध्यापक डाक्टर श्री हृदयरत्न बज्राचार्यले स्क्रिन शेयर प्रविधिद्वारा सार्बजनिक गर्नु भयो । प्रिण्ट र अनलाइन दुबैका लागि आइएसएसएन नम्बर प्राप्त यस पत्रिकामा पाँच देशका विद्वानहरुको३३ वटा लेखहरु (२६ अंग्रेजी र ७ नेपाली)समेटिएकाछन् ।ती लेखहरु बौद्ध दर्शन, ईतिहास, साहित्य, वातावरण आदि विषयहरुमा फैलिएका छन् । सम्पादक मण्डलका अध्यक्ष श्री फणिन्द्र प्रसाद न्यौपानेले पत्रिका प्रकाशन गर्ने अवधारणाबारे मन्तव्य दिनुका साथै त्यसको लागि सहयोग पु¥याउने सबै व्यक्तित्वहरुप्रति आभार प्रकट गर्नु भयो ।

भिडियो प्रसारण
कार्यक्रमको बिचबिचमा प्रज्ञापारमिता वाचन र अन्य विषयका ससाना भिडियो क्लिपहरु प्रसारण गरिएका थिए ।

समापन
लुबौविका स्कूल अफ डिभेलप्मेण्ट स्टडीज एण्ड एप्लाइड साइन्सेजका डीन श्री उकेश राज भुजुले कार्यक्रममा प्रस्तुत सन्देशहरु र विचारहरुका साथै छलफलका बुँदाहरुलाई समेटेर सारांश प्रस्तुत गर्नु भयो । त्यसैगरी लुबौविका फ्याकल्टि अफ बुद्धिष्ट स्टडीजका डीन डाक्टर श्री माणिक रत्न शाक्यले यस वेबिनार सञ्चालन गर्नमा सहयोग पु¥याउनुहुने सबै व्यक्तित्वहरुमा धन्यबाद ज्ञापन गर्नु भयो ।

यस वेबिनारको अन्तमा निम्न विषयहरुमा बेग्लाबग्लै विशिष्ट वेबिनारहरु सञ्चालन गर्नुपर्नेबारे सहमत भयो ः

१. वर्तमान महामारीमा बुद्धिष्ट इकोनोमिक्सको योगदानबारे छलफल गरेर सरकारलाई आगामी बजेटमा राख्नको लागि सुझाव दिने;
२. लुम्बिनी बौद्ध विश्वविद्यालयले स्थानिय जनमानसमा सामुदायिक परिचालनका कार्यक्रहरु सञ्चालन गर्नेबारे छलफल अगाडि बढाउने; र
३. योग र ध्यान्बारे उच शिक्षा सञ्चालन गर्नेबारे छलफल अगाडि बढाउने ।

……………………………………………

तयार गर्ने : उकेश राज भुजु, डीन, स्कूल अफ डिभेलप्मेण्ट स्टडीज एण्ड एप्लाइड साइन्सेज
मिति : २०७७ साल बैशाख २७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!